ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रुस र टर्कीले हात मिलाए, अमेरिकालाई दबाब

नेपालगाथा २०७६ कार्तिक ६ गते बुधबार १८:१०:२१ मा प्रकाशित

सिरियाली कुर्द विद्रोहीमाथिको सैन्य कारबाहीबारे टर्की र रुसले ‘ऐतिहासिक सम्झौता’ गरेका छन्। रुस पुगेका टर्किस राष्ट्रपति ताइप एड्रोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौतामा हस्ताक्षर गरेका हुन्। टर्की–सिरिया सीमा क्षेत्रमा टर्की र रुस दुवैका सेना तैनाथ छन्। अमेरिकाले उक्त क्षेत्रबाट आफ्नो सेना फर्काइसकेको छ। अमेरिकी सेना फर्किनासाथ टर्कीले सिरियाका कुर्द विद्रोहीविरुद्ध सैन्य कारबाही थालेको थियो। टर्की, कुर्दहरुको एउटा हिस्सालाई ‘आतंककारी समूह’ ठान्छ। सम्झौताअनुसार, अब टर्की र रुस मिलेर टर्कि–सिरिया सीमामा संयुक्त पेट्रोलिङ गर्नेछन्।

विश्लेषकहरुले यो सम्झौतालाई नयाँ शक्ति सन्तुलनका रुपमा परिभाषित गरेका छन्। गतसाता अमेरिकाले कुर्द लडाकु र टर्की सेनाबीच युद्धविराम गराएको थियो। तर युद्धविरामको समय सीमा नटुंगिँदै टर्की र रुसले नयाँ सम्झौता गरेका हुन्। कुर्द विद्रोही समूहले युद्धविरामका सर्त पुरा गर्दै विवादित क्षेत्रबाट आफ्नो सेना हटाएको दाबी गरिरहँदा टर्की–रुसबीचको नयाँ सम्झौतामा ‘कुर्दलाई विवादित क्षेत्र खाली गर्न थप समय उपलब्ध गराउने’ भनिएको छ। सीमा क्षेत्रबाट ३२ किलोमिटरको दुरी खाली गर्न दबाव दिँदै टर्की र रुसले कुर्द विद्रोहीलाई १५० घण्टाको समय दिएका छन्।

रिक्त हुन आउने सीमा क्षेत्रमा सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउने टर्कीको योजना छ। सीमा क्षेत्रमा उपस्थित कुर्दहरुबाट आँफूलाई सुरक्षा चुनौती उत्पन्न भएको भन्दै टर्कीले यसमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गर्दै आएको छ। कुर्दविरुद्धको कारबाही रोक्न दबाव दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखेको चिठी उनका टर्किस समकक्षी एड्रोगानले डस्टबिनमा मिल्काइदिएका थिए। अमेरिकी सेना फर्किनासाथ सुरक्षा खतरा देखाउँदै रुसले पनि सेना परिचालन गर्ने योजना बनाएपछि रुस र टर्कीका सेनाबीच संघर्ष हुनसक्ने स्थिति पैदा भएको थियो।

उक्त परिस्थितिलाई काबुमा लिन यी दुई देशले सम्झौता गरेका हुन्। यो सम्झौताबाट भर्खरै सेना फर्काएको अमेरिका भने दबावमा परेको छ। सेना फर्काउने निर्णय गरेर सिरियामा युद्धको बाटो खोलिदिएको भन्दै अमेरिकामै पनि ट्रम्पको आलोचना भइरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार, उक्त क्षेत्रमा तनाव चुलिँदा गत दुईसातामा मात्रै  ५ सयभन्दा धेरैको मृत्यु भएको छ भने ८० लाख बालबालिकासहित डेढ लाख मानिस विस्थापित भएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top