ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकी भिषा माग्दै ७४ दिनदेखि भोक हड्तालमा दुई युवा

नेपालगाथा २०७६ आश्विन ९ गते बिहीबार १०:५३:५७ मा प्रकाशित

शरणार्थी भिषा माग्दै अमेरिकी अध्यागमनको हिरासतमै ७४ दिनदेखि भोक हड्ताल गरिरहेका दुई भारतीय युवा छिट्टै थुनामुक्त हुने अनुमान गरिएको छ। अमेरिका छिर्न खोज्दै गर्दा अमेरिका–मेक्सिको सीमाबाट समातिएका उनीहरु टेक्ससस्थित अल–पासो अध्यागमन कार्यालयको हिरासतमा छन्।  ३३ वर्षे अजय कुमार र २४ वर्षका गुर्जन्त सिंह जल, थल र हवाई मार्ग हुँदै दुई महिना लगाएर अमेरिकी सीमासम्म पुगेका थिए। सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनीहरुले ‘स्वदेशमा राजनीतिक प्रतिद्वन्दीबाट खतरा रहेको’ भन्दै शरणार्थी भिषाका लागि आवेदन दिएका थिए। 

दुईमध्ये कुमारको आवेदन विचाराधिन छ भने सिंहको आवेदन अध्यागमन न्यायालयले खारेज गरिदिएको छ। सिंहले आफूँमाथि अन्याय भएको भन्दै स्वच्छ र निष्पक्ष सुनुवाइको माग गरेका छन्।  अमेरिकी कानुनअनुसार, शरणार्थी भिषा आवेदकको सुनुवाइ नसकिँदासम्म आवेदकलाई हिरासतमा राख्न सक्ने अधिकार अध्यागमनलाई प्राप्त छ। सुनुवाइ सकिनासाथ ती दुई युवालाई थुनामुक्त गरिने अध्यागमनले जनाएको छ। सन् २०१८ मा मात्रै कुमार र सिंहजस्तै अमेरिका छिर्न चाहने ९ हजार भारतीय नागरिकलाई अमेरिकी अध्यागमनले सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

शरणार्थी भिषा आवेदन गर्नेमध्ये भारतीयको संख्या धेरै छ। आवेदन अस्वीकार हुनेमध्ये पनि धेरैजसो भारतीय नै छन्। सन् २०१५ र २०१८ को बीचमा ७ हजार भारतीयलाई अमेरिकी अध्यागमनले अल–पासोबाट घर फर्काइदिएको छ। ‘तीमध्ये धेरैले अल–पासो अध्यागमनको सुनुवाइ निष्पक्ष नभएको गुनासो गर्ने गर्छन्’, अल–पासो टाइम्स दैनिकका पूर्वसम्पादक रोबर्ट मुरेले भने। कुमार र सिंहको भोक हड्ताल महिनादिन पुगेपछि अदालतले उनीहरुलाई बलात् खाना खुवाउन आदेश दिएको थियो। ‘लामो न लामो ट्युव बोकेकी नर्ससहित एकजना डाक्टर हामी भएको ठाउँमा आए।

उनले खाना खाने भए खाऊ, नत्र यो ट्युव घाँटीबाट घुसार्छु भने। मैले अस्वीकार गरेपछि उनीहरुले ट्युव घुसारे। तीन पटकसम्म, मेरो नाक नै नसुन्निँदासम्म त्यसो गरिराखे,’ कुमारले बयानमा भनेका छन्। हिरासतमा परेयता सिंहको तौल १७ किलो घटेको छ। भने, ‘जवर्जस्ती खाना खुवाइनु कष्टकर त छँदैछ, अपमानजनक पनि छ।’ अध्यागमनले भने उनीहरुकै जीवनरक्षाका लागि त्यसो गर्नुपरेको बताएको छ। अजय कुमारले बयानमा भनेअनुसार, उनी हरियाणाको कृषक परिवारबाट आएका हुन्। उक्त राज्यमा भारतीय जनता पार्टीको सरकार छ, तर उनी विपक्षी दलसम्वद्ध थिए।

उनी अमेरिकी अध्यागमनको हिरासतमै रहेको अवस्थामा उनको पिताको हत्या भएको छ भने यसअघि उनको वहिनीमाथि एसिड आक्रमण गरिएको थियो। ‘हिरासतमा रहेको अवस्थामा ती सबै प्रमाण जुटाउन कठीन हुन्छ,’ कुमारका वकिलले भने। त्यसो त, भिषा माग्दै अध्यागमनको हिरासतमै भोक हडतालमा बस्ने चलन सामान्य हुँदै गएको छ। यही वर्षमात्रै १३ जना भारतीयले हड्ताल गरिसकेका छन्, जसलाई जवर्जस्ती खाना खुवाउनु परेको थियो। तर कुमार र सिंहको हड्ताल तुलनात्मक रुपमा लामो छ। एकाध हप्ता चल्ने हड्तालको संख्या भने गनिसाध्यै छैन।

यसरी हड्ताल गर्नेमा भारत, बङ्गलादेश, क्युवा लगायतका देशका नागरिक छन्। वकिलले जनाएअनुसार, थुनामुक्त भएपछि सिंह र कुमार स्थानीय स्पोन्सरको मद्दतमा अल–पासोमै बस्नेछन्। ‘उनीहरु मन लागेजति बस्न सक्छन्। बाहिर पनि डाक्टरको व्यवस्था गरेका छौं। उनीहरु हप्ता दिनजतिमा स्वस्थ हुने आशा गरेका छौं’, एक स्पोन्सरले भने, ‘हिरासतमा राख्नु अनावश्यक थियो भनेर उनीहरुले पुष्टि गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु।’ ‘अजय अहिले स्वास्थ्य लाभ गर्दैछन्, पुनरावेदनको विषयमा सोचविचार गर्दैछन्। चिन्तित पनि छन्, इन्डिया फर्किनु पर्छ कि भन्ने कुराले उनको सातो गएको छ,’ अर्का स्पोन्सरले भने। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top