होमपेज / अन्तराष्ट्रिय
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार गिरफ्तार गरिएको छ। विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरूले पक्राउ गरेका हुन्। जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उनीहरू पक्राउ परेका हुन्।
आफ्ना नेता पक्राउ परेको घटनाप्रति भाकपाले विरोध जनाउँदै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ। जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयका विरुद्धमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले प्रदर्शन गर्दै आएका छन्।
उनीहरू जम्मु कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन्। भारतको केन्द्रीय सरकारको पछिल्लो निर्णय प्रजातन्त्र विरोधी भएको पनि उनीहरूको भनाई छ। भाकपा महासचिव यचुरी र अर्का नेता राजाले जम्मु कश्मीर भ्रमणका क्रममा आफूलाई कुनै अवरोध नहुने वातावरण बनाउन आग्रहसहित जम्मु–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गरेका थिए।
येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए। पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता राजा, युसुफ तारीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए। यसअघि कांग्रेस नेता गुलाम नाबी अजादलाई पनि बिहीबार श्रीनगर विमानस्थलबाट जम्मु–कश्मीर क्षेत्रमा जान नदिएर केन्द्रीय राजधानीतर्फ नै फिर्ता पठाइएको थियो।
संविधानबाट जम्मू–कश्मीरलाई विशेष सुविधा दिँदै आएको धारा ३७० खारेज गरिएपछि भारतसहित छिमेकी देशहरूमा तरङ्ग फैलिएको छ।