ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कश्मिरमा कर्फ्यु, मोबाइल र इन्टरनेटसमेत प्रतिवन्धित

नेपालगाथा २०७६ श्रावण २० गते सोमबार ११:२१:५२ मा प्रकाशित

दिल्ली । भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।

श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरिएको छ । यो धारा लागु भएपछि अर्को आदेश नभएसम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत गर्न पाउँदैनन् । यस अवधिभर सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

सरकारले कयौं शैक्षिक संस्थाका छात्राबास खाली गर्न आदेश दिएको छ । राजधानी श्रीनगरसहित सम्पूर्ण कश्मिर घाटीमा मोबाइल र इन्टरनेट सेवा बन्द भएको पत्रकार माजिद जहाँगिरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

श्रीनगरबाट ल्याण्डलाइन फोनमा समेत सम्पर्क कटौती गरिएको छ । कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।

यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । उता पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ ।

उता कश्मिरको पछिल्लो अवस्थाप्रति मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कन्टि्रज ओआइसीले चिन्ता व्यक्त गरेको छ ।

ओआइसीले भनेको छ-भारतीय कब्जामा रहेको कश्मिरको अवस्था नाजुक बन्दै गएको र अतिरिक्त सुरक्षा बलको तैनाथीका साथै प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ ।

कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचनापति प्रशासनले केही दिनयता उच्च सुरक्षा सतर्कता अपनाएको थियो । हिन्दू भक्तजनमाथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचनापछि सरकारले सुरक्षा बल थपेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी यसअघि नै दिइसकेका छन् । कश्मिरको स्वतन्त्रतालाई लिएर भारत र पाकिस्तानबीच बिगत ७० वर्षदेखि लडाइ चलिरहेको छ । अनलाइन बाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top