होमपेज / अन्तराष्ट्रिय
भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा बिहीबार भएको एक निजी बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन्। अधिकांश स्थानीय यात्रु चढेको बस बन्जार क्षेत्रबाट गढ गुशैणी जाँदै गर्दा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार एउटा अप्ठेरो मोडमा चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। मोडबाट खसेको बस करिब ५ सय मिटर तल खोलामा पुगेको थियो। दुर्घटना हुनासाथ स्थानीयवासीले उद्धार सुरु गरेका थिए। बसको छतमा ठूलो संख्यामा मानिसहरु बसेकाले दुर्घटनामा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन्।
दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा हिमाचल प्रदेशका मुख्यमन्त्रीले समवेदना प्रकट गर्दै तत्कालीन राहतको घोषणा गरेका छन्। हिमाचल प्रदेशमा यसअघि पनि ठूलो सडक दुर्घटना हुने गरेका छन्। सन् २०१७ मा भएका विभिन्न दुर्घटनामा हिमाचलमा मात्रै १२ सय भन्दा बढीको मृत्यु भएको छ। यसै वर्ष सन् २०१९ मा ४३० जनाको दुर्घटनाका कारण मृत्यु भइसकेको छ। एजेन्सी ।