ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

श्रीलंकामा भएको विस्फोटमा आईएसको हात रहेको संकेत

नेपालगाथा २०७६ बैशाख १० गते मंगलबार १३:०५:२० मा प्रकाशित

काठमाडौं । श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) को हात रहेको संकेत प्राप्त भएको छ । आईएस समर्थक केही टीभी च्यानलले सोमवार आत्मघाती आक्रमणकारी भनिएका तीनजनाको तस्वीर जारी गरेको छ । क्रिस्चियनहरूको पर्व ईस्टरका दिन राजधानी कोलम्बा समेत तीन शहरका चर्च र होटलमा भएका आक्रमणमा लगभग ३०० मानिस मारिएका थिए । 

आत्मघाती आक्रमणकारी भनिएका व्यक्तिको नाम अबुल बर्रा, अबुल मुख्तार र अबु उबैदा बताइएको छ । आईएसको मुखपत्र अमाकले यस आक्रमणको जिम्मेवारी लिएमा त्यो आधिकारिक हुने भनी जासूसी संस्थाहरू प्रतीक्षा गरिरहेका छन् । तर एक सूत्रले बताएअनुसार, यी तस्वीर केही हदसम्म विश्वसनीय छन् किनकि तीनमध्ये एकको वास्तविक नाम जाहरान हाशिन हो र उनी नेसनल तौहीद जमात (एनटीजे)का कार्यकर्ता हुन् । च्यानलहरूले उनलाई अबु उबैदाका रूपमा चिनाएका छन् । 

तीन आत्मघाती आक्रमणकारीमा उबैदा मात्रले नकाब नलगाइकन फोटो खिचेको थियो । एजेन्सीहरूले अहिले अन्य दुईलाई चिन्ने कोशिश गरिरहेका छन् । एक जासूसी अधिकारीले सोमवार बताए, ‘यी आत्मघाती आक्रमणकारीको जुन नाम दिइएको छ त्यो आईएसले आफ्ना लडाकूलाई दिने गरेको छ । उबैदाको पनि यही पृष्ठभूमि हो । एनटीजेको प्रत्यक्ष सम्बन्ध आईएससँग जोडिएको यसबाट संकेत पाइन्छ । यसबाहेक तीनै तस्वीरमा लडाकूले एउटा औंला उठाएका छन् र यो आईएस आतंकवादीहरूको लोकप्रिय संकेत हो ।’

आईएसका प्रवक्ता अबु हसन अल–मुजाहिरले एक महिनाअघि एक श्रव्य सामग्री प्रकाशित गरेर मुसलमानहरूलाई न्युजील्यान्डमा भएका मस्जिदमाथिको आक्रमणको बदला लिन आह्वान गरेका थिए । उनको भाषण ४४ मिनेटको थियो र उनले न्युजील्यान्ड नरसंहारबाट जाग्नुपर्ने र धर्मविरुद्धको आक्रमणको बदला लिनुपर्ने बताएका थिए । 

मुजाहिरको अडियोपछि अनेकौं एजेन्सीहरूले अन्लाइन सन्देश इन्टरसेप्ट गरेका थिए । विभिन्न देशका उपासना स्थलमा सुरक्षा बढाउन अलर्ट जारी गरिएको थियो । श्रीलंकामा गरिएको ठूलो आक्रमणले पनि स्थानीय आतंकवादी संगठन मात्र यसमा सहभागी हुन नसक्ने देखाएको छ । उसले कुनै अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सहायता पक्कै पनि पाएको हुनुपर्छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top