होमपेज / अन्तराष्ट्रिय
अमेरिकाले एन्टी सेटेलाइट मिसाइल परीक्षण मार्फत अन्तरिक्षमा फोहोर गरेको भन्दै भारतलाई चेतावनी दिएको छ। भारतले बुधबार उक्त परीक्षण सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त घोषणाको एक दिनपछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सानाहानले अन्तरिक्षमा फोहो बढाएको भन्दै भारतलाई चेतावनी दिएका हुन।
प्याट्रिकले भारतले गरेको परीक्षणको अध्ययन गरिरहेको पनि जानकारी दिएका छन। यता भारतले भने उक्त परीक्षणले अन्तरीक्षमा फोहोर नगरेको भन्दै आफ्नो बचाउ गरेको छ। अमेरिका, रुस र चीनपछि अन्तरिक्षमा एन्टी मिसाइल परीक्षण गर्ने भारत चौथो देश बनेको थियो। भारत भन्दा अगाडि चीनले पहिलोपटक सन् २००७ मा एन्टी मिसाइलको परीक्षण गरेको थियो जसको अन्तर्राष्ट्रिय स्तरमा उसको व्यापक आलोचना भएको थियो।
प्याट्रिकले पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘हामी सबै अन्तरीक्षमा रहेका छौँ त्यसैले यसमा फोहोर गर्नु भएन। अन्तरिक्षमा व्यापार गर्ने वातावरण बनिरहोस र काम गर्ने स्वतन्त्रता भइरहोस।‘ उनले यस्ता परीक्षणले अन्तरिक्षमा फोहोर बढ्ने र त्यसले नागरिक र सैन्य उपग्रहरूमा नोक्सान पुग्ने बताए। भारतले भने कम उचाइमा परीक्षण गरेकाले अन्तरीक्षमा फोहोर नभएको भन्दै आफ्नो बचाउ गरेको छ।
नासाले पनि भारतको परीक्षणले अन्तरिक्षमा फोहोर बढाएको र अझै बढ्ने भन्दै चेतावनी दिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीका प्रमुख जिम ब्रिडेस्टाइनले अमेरीकी संसदमा भनेका छन, ‘केही देश एन्टी सेटेलाइट परीक्षण जानीबुझी गर्छन् जसले अन्तरिक्षमा फोहोर फैलिने गर्छ।
हामी यो समस्याबाट पहिले नै प्रभावित भइरहेका छौँ।‘ भारतले सेटेलाइट परीक्षण गरेको विषयलाई अन्य देशहरूले पनि चेतावनी दिँदै आलोचना गरेका छन। अमेरिका लगायत रुस र चीनले हाल उक्त परीक्षण रोकेका छन। एजेन्सी ।