ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनकाे जियाङ्सु प्रान्तमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

नेपालगाथा २०७५ चैत्र १४ गते बिहीबार १५:१४:२६ मा प्रकाशित

पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अण्डा भेटिएको सोमबार जनाएका छन्। उत्खननका क्रममा अण्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो। नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन्।

मानिसको हातले छुँदा अण्डा फुट्ने त्रासका कारण अण्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए।  ‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्नेबारे डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने। अण्डाका सौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अण्डा राखेर सँगै गाडिएको हुन सक्ने अनुसन्धाताहरुको भनाइ छ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा विरलै पाइन्छ। वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अण्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो। सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अण्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अण्डा फुटेको थियो। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top