ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चन्द्रमामा पहिलोपटक उम्रेको बिरुवा मर्‍यो

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:१३:११ मा प्रकाशित

काठमाडौं । चन्द्रमामा एक्लो हरियो पात देखिएपछि अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा आफैं खानेकुरा हुर्काउने आशा दिलाएको थियो । तर पात उम्रेको केही समयपछि नै कपासको बोटको मरेको छ । चीनले पठाएको अन्तरिक्षयानमा कपासको बोट उम्रेको थियो । उक्त बोट चन्द्रमाको सतहमा सूर्यको प्रकाशमा निर्भर थियो । तर चन्द्रमाको पछाडिपट्टिको भागमा रात परेपछि तापक्रम माइनस १७० डिग्री सेल्सियसमा झरेपछि बिरुवा अल्पायुमै मरेको हो । चोङकिङ विश्वविद्यालयका प्राध्यापक शीए गेङशिनले यो परीक्षणको डिजाइनको नेतृत्व गरेका हुन् र उनले बिरुवाको अल्पायुको अपेक्षा गरिएको बताए । ‘क्यानिस्टरमा जीवन चन्द्रमाको रातमा बाँच्नै सक्दैन,’ शीएले बताए ।

छाङ’ई–४ अन्तरिक्षयान आइतवार स्लीप मोडमा पुगेको थियो । अवतरण भएको पहिलो चन्द्र रातमा ऊ स्लीप मोडमा पुगेको हो । चन्द्रमामा रातिको समय लगभग दुई हप्ताको हुन्छ र त्यसपछि अन्तरिक्षयान फेरि जाग्नेछ । रोभर युटु–२ ले मध्याह्नमा निद्रा लिनुपर्छ किनकि सूर्य सीधै टाउकोमाथि पुग्दा बढी तात्छ । दिउँसोको तापक्रम १२० सेल्सियसभन्दा बढी पुग्छ । पृथ्वीमा जस्तो चन्द्रमामा चरम तापक्रम विविधतालाई छेक्ने वायुमण्डल छैन । बिरुवा र बिउ ढाकिएको क्यानिस्टरमा क्रमशः कुहिएर जाने र यसले चन्द्रमाको वातावरणलाई हानि नगर्ने चाइना जेसनल स्पेस एड्मिनिस्ट्रेसनले जनायो ।

अन्तरिक्षयात्रीहरूले इन्टरनेसनल स्पेस स्टेसनमा बिरुवा हुर्काएको भए पनि चन्द्रमामा पहिलोपटक बिरुवा उमारिएको हो । ‘हामीले यस्तो अनुभव गरेकै थिएनौं । अनि हामीले चन्द्रमाको वातावरणलाई पृथ्वीमा सिमुलेट गर्न सकेनौं,’ शीएले भने । बिरुवा उमार्ने परीक्षणमा आलुको बिउ, मर्चा र सर्स्युँ प्रजातिको एक बिरुवा पनि समावेश गरिएको थियो तर ती कुनै पनि हुर्कने लक्षण देखाएनन् । द गार्डियनबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top