होमपेज / सम्पादकीय
आज मिति २०७४ साल मंसिर १८ गते, नेपालगाथा डट कमको पहिलो वार्षिकोत्सव । आजकै दिन ठिक एक वर्ष अगाडि नेपालगाथा डट कमलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सुर्खेतमा आयोजित एक समारोहका बीच शुभारम्भ भएको घोषणा गर्नुभएको थियाे ।
विश्वको माग र पछिल्लो समय प्रविधिप्रति बढ्दै गएको जनमानसलाई मध्यनजर गर्दै नेपालगाथा डट कमलाई शुरु गरिएको हो । यो डिजिटल पत्रिका भएकाले, यसमा प्रकाशित तथा प्रशारित हुने कुनै पनि सामग्रीका पाठक, स्रोता तथा दर्शको दायरा निश्चित नहुने कुरा सबैमा जानकारी नै छ ।
विश्व यतिवेला एउटा कोठामा सीमित भएकाले नेपाली पत्रकारिता पनि डिजिटल प्रविधिमार्फत विश्वभर क्षणभरमा नै फैलिरहेको छ । अब कुनै पनि घटनाको दायरा सीमित भएन । विश्वका कुनै पनि कुनामा भएका घटनाहरुलाई हाम्रो सामू क्षण भरमा नै आइपुग्छन् ।
हुन त अहिले सामाजिक सञ्जालमार्फत पनि कुनै पनि घटना क्षणभरमा नै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दछन् । तर सामाजिक सञ्जालमा प्रकाशित वा प्रशारित भएका सबैखालका सामग्रीको गुणस्तरीयता, विश्वसनीयता, सन्तुलन र सत्यतथ्य पत्ता लगाउन नसकिने भएकाले हामीले पत्रकारिताको सबै भन्दा कान्छो माध्यम डिजिटल पत्रकारितालाई अंगालेका हौं ।
अब कुनै पनि समाचारको जीवन २४ घण्टा भएन । छापा माध्यममा २४ घण्टासम्म अर्को ताजा समाचार पढ्ने बानी भएका हामीहरुलाई डिजिटल माध्यमले क्षणभरमा नै नयाँ नयाँ समाचार पढ्न, सुन्न र हेर्न अभ्यास गराइरहेको छ ।
हामी पनि नेपालको कुनै एक ठाउँमा बसेर विश्वभरका स्रोता, दर्शक र पाठकलाई नेपालगाथा डट कम मार्फत विभिन्न सामग्री प्रकाशित र प्रशारित गरेर सूचना र जानकारी प्रदान गरिरहेका छौं । हामीले यो एक वर्षमा पठनीय सामग्रीलाई महत्व दिनुका साथै श्रब्य र दृश्य सामग्रीलाई महत्व दिने प्रयास गर्यौं ।
दर्शक, स्रोता, पाठक र विज्ञापनदाताको माया, ममतालाई ध्यानमा राख्दै पहिलो वर्ष पार गरिरहँदा टिभी डट नेपालगाथा पनि शुरुवात गर्ने जानकारी गराउँदछौं । हामीलाई आशा अनि विश्वास छ, पहिलो वर्षमा झैं आगामी दिनहरुमा पनि अझैं परिस्कृत, अझैं विश्वसनीय र अझैं बढी महत्वका सामग्री लिएर हामी आउने छौं । तपाईंहरुको माया, ममता र साथ यसरी नै पाइराखौं ।
त्रिभुवन बि.सी.
सम्पादक