होमपेज / विचार
पौल रसले भनेका छन् संसारमा रोगभन्दा चर्चित अरु छैन । अहिलेको परिस्थितिले पौल रसको भनाइलाई थप पुष्टि गरेको छ । एउटा रोगको कारणले सिंगो मानवजाती अप्ठेरो, दुःख, कष्ट, त्रास र भययुक्त अवस्थामा छौ । र पनि आशावादी छौं । परिस्थिति छिट्टै बदलिने छ र कोरोना संक्रमणको यो महाविपत्तिको अन्त्य हुनेछ । नयाँ–नयाँ स्वास्थ्य समस्या र रोगहरुको उदय हामी मानवजाती कै आनिबानी र व्यबहारको कारणले भैरहेका छन् । यो क्रम विगतमा पनि थियो, आज पनि छ र भोलि पनि रहिरनेछ । हिजोको अविकसित समाजमा जसरी सरुवा रोगहरु महामारीको रुपमा फैलिएर लाखौं मानिसहरु मर्थे । त्यसैगरी आजको विकसित युगमा पनि यस्तै संक्रामक रोगहरुले मानिसहरु मरिरहेका छन् । यसले के प्रष्ट हुन्छ भने अवस्था र व्यवस्था जे–जस्तो सुकै भए पनि रोग र स्वास्थ्य समस्याहरु उत्पन्न भइरहन्छन् तिनीहरुको रुप, चरित्र र प्रवृत्ति मात्र फरक हुन्छ । विश्वका केही विकसित देशहरु स्वास्थ्य जनशक्ति, औषधि, उपचार, प्रविधि, स्वस्थ व्यवहार र जीवनशैलीले गर्दा केही सरुवा रोगहरुको उन्मुलन र नियन्त्रण भए पनि बेला बेला उदय हुने नयाँ रोगहरुकोे नियन्त्रणमा भने चुनौतीहरु देखिने गरेको छ ।
रस दौद्याटले २७, फेब्रुवरी २०२० मा न्युयोर्क टाईम्समा कोरोना एउटा रोगमात्र नभई समग्र मानव जातीकै परीक्षा हो भनेर लेखेका छन् । अहिले यो महामारीबाट विश्वकै धनी र सुविधा सम्पन्न राष्ट्रहरु पनि उठ्न सकिरहेका छैनन् । यो महामारीबाट दुई लाख भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु संक्रमित भैसकेका छन् । विश्व स्वास्थ्य संगठनले यसलार्ई पेन्डेमिक भनेर घोषणा गरिसकेको छ । यसै सन्दर्भमा नेपालमा कोरोना संक्रमण बढ्यो भने नेपालको हालत के होला ? नेपाल यो भाइरससँग कसरी मुकाबिला गर्ला ? भन्ने प्रश्नहरु थुप्रै नेपालीहरुको मष्तिष्कमा प्रतिक्षप भइरहेका छन् । यद्यपि नेपालले कोरोनाबाट बच्न विभिन्न रणनीतिहरु अपनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले दिएको सल्लाहको आधारमा रोकथामका लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेका छन् । यति हुँदाहँुदै पनि नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको छ ।
रोग नियन्त्रणको ढाँचा कुनै पनि देशले अबलम्बन गरेको राज्य व्यवस्थाबाट निर्देशित हुने गर्दछ । उदारवादी राज्य व्यवस्थामा स्वास्थ्य सेवाको बजारलार्ई खुला छोडी निजीकरणलार्ई जोड दिइन्छ । स्वास्थ्य प्रवद्र्धन र रोग नियन्त्रण कार्यमा राज्यको भूमिका घटाउँदै लिइन्छ । यस व्यवस्थामा रोग नियन्त्रणलार्ई व्यक्तिको निजी मामिला मान्दै व्यक्तिवादी कार्यक्रममा जोड दिइन्छ । रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने सामाजिक, आर्थिक तत्वहरु जस्तै बेरोजगारी, गरिबी, अशिक्षा, अन्याय आदिलार्ई बे–वास्ता गरिन्छ । सामाजिक लोकतान्त्रिक राज्य व्यवस्थामा रोग नियन्त्रण र व्यवस्थापनको कार्यलार्ई राज्यको सामाजिक आर्थिक संरचना र नीतिसँगै जोडेर हेरिन्छ । राज्यले कमजोर तथा गरिबहरुका लागि विशेष सुविधाहरु प्रदान गर्दछ । रोग नियन्त्रणमा राज्यको सामाजिक कल्याणकारी नीति, स्वास्थ्य नीति, शिक्षा, स्वास्थ्य शिक्षा, आवास नीति, कार्यस्थल नीतिहरु लागू गरिन्छ जसले रोग नियन्त्रणमा ठुलो भूमिका खेल्दछन् । समाजवादी राज्य व्यवस्था माक्र्सवादको परिकल्पना हो ।
यस्तो राज्यव्यवस्था अवलम्बन गर्ने देशहरुले अर्थप्रणाली र साधन स्रोतमा सामूहिक स्वामित्व र समान वितरण कायम गरी रोग नियन्त्रण गर्ने प्रयास गर्दछन् । असमानता, अन्याय, विभेद, गरिबी नै रोगका कारणहरु हुन् । यिनीहरुको अन्त्य नगरी रोग नियन्त्रण गर्न सकिदैंन भन्ने राखिन्छ । यस व्यवस्थामा स्वास्थ्य र शिक्षा जस्ता कुरालार्ई आधारभूत आवश्यकताको रुपमा लिई यस प्रतिको समग्र दायित्व राज्यले लिन्छ । यस्तो राज्य व्यवस्था भएका देशहरुले स्वास्थ्य प्रवद्र्धन र रोग नियन्त्रण कार्यलार्ई सामाजिक, आर्थिक अवस्थासँग जोडेर कार्यक्रमहरु ल्याउँछन् । रोग नियन्त्रणमा व्यक्तिवादी कार्यक्रम भन्दा पनि सम्पूर्ण जनताको सामाजिक आर्थिक अवस्थामा सुधार, ग्रामिण बस्तीसम्म स्वास्थ्य सेवा, स्वास्थ्य नीति, स्वास्थ्य शिक्षा तथा साधन र स्रोतमा समान वितरण आदि जस्ता उपायहरु लागू गरिन्छ ।
नेपालको संविधान, २०७२ अनुसार नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा प्रवेश गरेको छ । जसको चरित्र सामाजिक लोकतान्त्रिक व्यवस्थासँग मिल्ने देखिन्छ । स्वास्थ्यलार्ई मौलिक हकको रुपमा लिँदैं विभिन्न विशेष समुदाय र वर्गका लागि विशेष सुविधा र सामाजिक कल्याणकारी नीतिहरु पनि अगाडि ल्याइएको छ । तर राज्य सञ्चालन उदारवादी व्यवस्था अनुरुप नै भएको देखिन्छ । त्यसैले सामाजिक असमानता, विभाजन, अराजकता, निजीकरण, व्यापारीकरण, गरिबी, वंचितीकरण, विभेदीकरण, बेरोजगारी, उद्योग धन्दाहरुको नाजुक स्थिति, भ्रष्ट्राचार, कमिसन, अपमानित राजनैतिक नेतृत्व, तल्लो तहका मानिसहरुमा रुपान्तरणको कमी आदि बिसंगतिहरु ब्यापक छन् ।
यस्ता खालका विसंगतिहरु नहटेसम्म कोरोना जस्ता महामारीहरु नियन्त्रण गर्न सकिदैन । स्वास्थ्य पूर्वाधारको तयारी, बलियो सामाजिक, राजनैतिक, आर्थिक संरचना, रोगलार्ई प्रभाव पार्ने तत्वहरुमा समुदायको नियन्त्रण गर्ने क्षमता र स्वास्थ्य जननीति लागू नभएसम्म कोरोनालगायतका महामारीहरुको नियन्त्रण असम्भव हुन्छ भन्ने कुरा उदारवादी र सामाजिक लोकतान्त्रिक राज्य व्यवस्था भएका देशहरुमा कोरोना महामारी नियन्त्रणको अवस्थाले प्रष्ट पारेको छ । तसर्थ तत्कालिन अवस्थामा कोरोनाको संक्रमणलार्ई नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने यस्ता महामारीहरुको समयमै नियन्त्रण गर्नका लागि दीर्घकालीन ढाँचा, नीति तथा कार्यक्रमहरु बनाउनुपर्छ ।
विश्व स्वास्थ्य संगठनले १९८६ मा स्वास्थ्य प्रर्वद्धनको ओटवा चार्टरमा स्वास्थ्य प्रवद्र्धनका लागि पाँचवटा विशिष्ट रणनीतिहरु अगाडि सारेको छ । यी रणनीतिहरु लागू गर्न सकेमा कोरोनालगायतका माहामारीहरु नियन्त्रण गर्न धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ ।
स्वस्थ जननीति महामारी नियन्त्रणको पहिलो तयारी भनेको यससँग सम्बन्धित नीति निर्माणबाट हुन्छ । त्यसैले नीतिको तयारी भनेको नियन्त्रणको ऐना नै हो । नेपालले कोरोनाको संक्रमण नियन्त्रणका लागि तत्कालीन नीतिहरु लागू गरेको छ ।
नेपालले सिमाना बन्द, सामाजिक दुरी कायम, लकडाउन, क्वारेन्टाईन, आइसोलेसन, परीक्षण÷निदान, उपचार, सचेतना, स्वस्थ जनशक्ति, औषधि, उपकरण र सामग्रीको ब्यवस्थापनलगायतका मुख्य रणनीतिहरु अपनाइरहेको छ । यसको प्रतिफल पनि सकारात्मक नै देखिएको छ । केन्द्रदेखि प्रदेश तथा जिल्लास्तरसम्म कोरोना परीक्षण शुरु भएको छ । तर लकडाउन र क्वारेन्टाईनलार्ई कसरी व्यवस्थित गर्ने भन्ने रणनीति र तयारी भएन । मानिसहरुले लकडाउनको उल्लङ्घन गरे । क्वारेन्टाईनमा बसेका मानिसहरु भागे । समाजको सामाजिक आर्थिक संरचनासँग यो नीति जोडिन नसक्दा लकडाउन र क्वारेन्टाइनको तल्लो तहको जनताले प्रवाह गरेनन् । सबैक्षेत्र र तहका नीति निर्माणकर्ताहरुसँगको छलफल र निष्कर्षबाट यो नीति बन्न सकेन । माथिल्लो तह र केही सीमित विशेषज्ञहरुको सहभागितामा मात्र यो नीति तयार भयो । दीर्घकालीन रुपमा यस्ता महामारीको नियन्त्रणका लागि स्वस्थ्य जननीतिको निर्माण गर्दा सबैक्षेत्र, विधा र तहका नीति निर्माणकर्ता, विशेषज्ञहरु समेतको सहभागितालाई राज्यले ध्यान दिनुपर्छ ।
सहयोगी वातावरणको निर्माण
सरकारले लकडाउनको नीति ल्यायो । तर यसको लागि सहयोगी वातावरणको निर्माण गर्न सकेन । तल्लो तहका नागरिकहरुका लागि अनुशासन, न्याय, पूर्वाधार, चेतना, खाना, खाद्यान्न, यातायात, चेतना आदि जस्ता आधारभूत कुराको सहज व्यवस्थापन भए लकडाउन तोडिन्नथ्यो । त्यसैगरी सेनिटाईजर तथा मास्कको प्रयोग, साबुन पानीले हात धुने कुरा धेरै भए तर यिनीहरुको सहज उपलब्धता, किन्नको लागि पैसा, प्रयोग गर्ने सिप, ज्ञान आदि कुराहरुमा ध्यान दिईएन । रोग नियन्त्रणमा सहयोगी वातावरण सहयोगि हुने भएकोले यस्तो वातावरण निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।
सामुदायिक कार्यलार्ई बलियो बनाउने
कोरोनाको नियन्त्रणमा जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउन समुदायका मानिसहरुलार्ई सहभागी र सक्षम बनाउनेतर्फ ध्यान गएन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुमात्र कोरोना संक्रमण नियन्त्रणका मुख्य एजेन्ट भएजस्तो देखियो । युवा, विद्यार्थी, शिक्षक, आमा समूह, संघ संगठनलगायत समुदायका मानिसहरुलार्ई सँगै लिएर नियन्त्रणमा होमिएको भए उनीहरु पनि जिम्मेवार बन्थे अनि अनुशासन कायम गर्न सजिलो हुन्थ्यो ।
स्वास्थ्य सेवा प्रणालीको नयाँ संरचना
महामारी रोगको नियन्त्रणका लागि स्वास्थ्य सेवा प्रणालीको विद्यमान संरचनालाई रुपान्तरण गर्न जरुरी छ । स्वास्थ्य सेवा प्रणाली भनेको चिकित्सक र नर्सले अस्पतालबाट प्रदान गर्ने विशेष सेवा मात्र होइन । चिकित्सा स्याहारको कुरा गर्दा राज्यको क्षमता अति नै सीमित छ । शुरुमा कत्रोरोनाको परीक्षणको सुविधा पनि थिएन । हाल देशभरी पनि नै परीक्षण कार्यले तुलनात्मक रुपमा व्यापकता पाएको छ तर पर्याप्त भने हुनसकेको छैन । चिकित्सा सेवा अन्तर्गत पनि जनशक्ति, औषधि, परीक्षण किट, सुरक्षा सामग्री आदिको अभाव उत्तिकै रहेको छ । चिकित्सा सेवालार्ई मात्र जोड दिएर कोरोनालगायतका महामारीहरुको नियन्त्रण गर्न सकिदैन । तसर्थ चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी, स्वास्थ्य प्रवद्र्धनकर्ता, स्वास्थ्य शिक्षा प्रदायक, शिक्षक, स्वास्थ्य शिक्षा विशेषज्ञलगायत सम्पूर्ण स्वास्थ्य व्यवसायीहरुद्वारा समुदाय, गाउँ वस्तिहरुमा प्रदान गर्न सकिने गरी स्वास्थ्य सेवा प्रणालीलाई नयाँ ढाँचामा विकास गरिनुपर्छ । निजीकरणले निम्तायका निजी अस्पतालहरु बन्द गरी गाउँ गाउँमा सुविधा सम्पन्न सरकारी अस्पतालहरु निर्माण गरी सहज रुपमा चिकित्सा सेवा प्राप्त हुने गरी रुपान्तरण गर्नुपर्छ । त्यसैगरी स्वास्थ्य सेवा प्रणालीलार्ई सामाजिक आर्थिक संरचनासँग जोडेर प्रदान गर्नुपर्छ । अल्माटा सम्मेलन १९७८ ले प्रस्तुत गरेका प्राथमिक स्वास्थ्य सेवाका आठवटा तत्वहरुलाई ध्यान दिएर स्वास्थ्य सेवा प्रणालीलाई रुपान्तरण गर्न सकेमा रोग नियन्त्रणमा प्रभावकारिता आउन सक्छ ।
व्यक्तिगत सिपको विकास
कोरोनालगायतका महामारीहरुबाट बच्नका लागि व्यक्तिगत सिपहरुको विकास पनि हुनुपर्दछ । नियन्त्रणको बारेमा ज्ञान, सिप, धारणा, आत्म सक्षमता, उत्प्रेरणा, तथा जीवनउपयोगी सिपले व्यक्तिलार्ई रोगबाट बच्न सवल बनाउँछन् । महामारीबाट बच्नको लागि सहयोगी व्यवहारहरु अपनाउनु पर्दछ । महामारी निम्त्याउने व्यवहारहरु हटाउने, महामारीसँग सम्बन्धित लक्षण र चिन्हहरु पहिचान गरी उपचारको खोजी गर्न सक्ने सिपहरु÷व्यवहारहरुको विकास गर्न सकेमा महामारीको नियन्त्रणमा सहयोग पुग्छ ।
यस बाहेक रोगको महामारीको नियन्त्रणका लागि अत्यन्तै महत्वपूर्ण तत्व स्वास्थ्य शिक्षा हो । अल्माटा सम्मेलन (१९७८) ले स्वास्थ्य शिक्षालार्ई प्राथमिक स्वास्थ्य सेवाको पहिलो र महत्वपूर्ण तत्व मानेको छ । संसारमा अहिले कतिपय रोगहरुको उन्मुलन र रोकथाम भएको छ, स्वास्थ्य र सामाजिक सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । यसमा स्वास्थ्य शिक्षाको पनि ठूलो योगदान रहेको छ । विकसित देशहरुले स्वास्थ्य शिक्षालार्ई अनिवार्य रुपमा विद्यालय तहमा समावेश गरेको पाइन्छ । नेपालमा भने स्वास्थ्य शिक्षालाई विद्यालय तहमा बे–वास्ता गरिएको छ । विद्यालय तहमा स्वास्थ्य शिक्षालार्ई अनिवार्य रुपमा लागू गरे व्यक्तिहरु र सिङ्गो समुदायलाई नै कोरोनालगायतका महमारीहरुसँग लड्न सक्षम बनाउन सकिन्छ ।
अहिले कोरोना संक्रमणसँग सम्बन्धित भएर मुख्य गरी रेडियो, टेलिभिजन, पत्रपत्रिका, वेबसाइट, सामाजिक सञ्जाल, टेलिकम, माइकिङ आदि माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरु प्रसारण भइरहेका छन् । यी कार्यक्रमहरु स्वास्थ्य शिक्षाकै हिस्साहरु हुन् तर यी कार्यक्रमहरु पढेलेखेका, सहरी क्षेत्र र साक्षर मानिसहरुप्रति बढी लक्षित छन् । यी सामग्रीहरुको सन्देश, भाषा, शव्द, ग्रामिण भेग र अशिक्षित मानिसहरुका लागि लक्षित देखिदैन । विविधताले भरिपूर्ण हाम्रो समाजमा जनचेतना सामग्रीको भाषा, शव्द, सन्दर्भ एउटै देखिन्छ । कोरोना संक्रमणसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु एकतर्फी र परम्परागत पद्धतिमा आधारित छन् । ब्यवहार परिवर्तनलाई लक्षित गरी सूचना मात्र प्रसारण गर्ने खालका चेतनामूलक कार्यक्रमहरुको सञ्चार गर्नसकेमा महमारी नियन्त्रण सामान्यरुपमा हेर्दा कोरोना भाइरसको समग्र चरित्रको बारेमा चेतनाको अभाव, गलत धारणाहरु र अन्धविश्वास देखिएका छन् ।
क्वारेन्टाईन भन्ने शव्दावलीको प्रयोग व्यापक भए पनि यसको आसय कतिपयलार्ई थाहा नभएको देखिन्छ । अनिवार्य रुपमा क्वारेन्टाईनमा रहनुपर्ने भनेर प्रचार गरियो तर क्वारेन्टाईन के हो, किन गर्ने भनेर बुझाउन सकिएको छैन । अशिक्षित, सर्वसाधारण, गरिबहरुको त कुरै छाडौं, जानेबुझेका तर पढेलेखेका युवाहरुमा समेत क्वारन्टाईन, आइसोलेसन आदि बारेको बुझाई स्पष्ट देखिएन । लकडाउन, क्वारेन्टाईन, आइसोलेसन भनेका महामारी रोग नियन्त्रणका आधारभूत उपायहरु हुन् भनेर बुझाउन स्वास्थ्य शिक्षा जरुरी छ । कतियमा त यस्तो धारणा पनि देखियो कि, मलार्ई कोरोनाको संक्रमण हुँदैंन, लागे हेरौंला, एकदिन मर्ने त हो नि, काल आए जसरी नि मरिन्छ, युवाहरुलार्ई कोरोनाको संक्रमण हुँदैन, प्रदुषणयुक्त वातावरणमा बस्नेहरुमा कोरेनालार्ई प्रतिरोध गर्ने क्षमता उच्च हुन्छ, बाकसमा बसिदंैन, आदि । यति धेरै सन्देश प्रदान गर्दा पनि कोरोना लाग्दैन भनेर केही मानिसहरुले घरको मुल गेटमा खनेर त्यहाँबाट निष्किएको कालो माटोको टीका लगाए, कोरोनाको शक्ति नष्ट हुन्छ भनेर दियो बाले ।
मानिसहरुका यस्ता तर्क तथा कुतर्क, चेतनाको अभाव र गलत धारणाले स्वस्थ व्यवहार परिवर्तनलाई प्रवद्र्धन गदैनन् । यी तथ्यहरुले आम–मानिसहरुमा स्वास्थ्य साक्षरताको कमी भएको पनि इङ्गित गर्दछन् । । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य साक्षरतालार्ई स्वास्थ्यको स्रोत र आधारभूत प्रस्तावना मानेको छ । कारोना तथा भविष्यमा आउन सक्ने यस्ता खालका महामारीको नियन्त्रणमा स्वास्थ्य साक्षरताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले स्वास्थ्य साक्षरता बढाउने कार्यक्रमहरु ल्याउनुपर्छ । स्वास्थ्य शिक्षाको मुख्य ध्येय नै स्वास्थ्य साक्षरता बढाउनु हो ।
अब राज्य र सम्पूर्ण नागरिकले सोच्नै पर्छ । कारोनालगायतका महामारीहरुले कुनै एक क्षेत्र होइन, विश्वलार्ई नै र कुनै एक पक्ष मात्र होइन, सम्पूर्ण पक्षलार्ई नै तहसनहस बनाईदिन्छन् । ओटवा चार्टरले प्रस्ताव गरेका पाँचवटा रणनीति र स्वास्थ्य शिक्षालार्ई सँगै समावेश गरी कार्यक्रम लागू गर्न सकेमा सम्भावित महामारीहरुको नियन्त्रण गर्न सजिलो हुन सक्छ । परम्परागत रुपमा प्रदान गरिदै आएको पद्धतिमा परिवर्तन गरी स्वास्थ्यमा प्रभाव पार्ने समग्र सामाजिक आर्थिक तत्वहरुसँग सम्बन्धित बनाएर आलोचनात्मक सचेतना जागृत हुनेगरी स्वास्थ्य शिक्षा प्रदान गर्न सकेमा व्यक्तिहरु सशक्तिकृत हुन्छन् । सरसफाई, बानी, व्यवहार, जीवनपद्धति आदिमा परिवर्तनसँगै सशक्तिकृत मानिसहरु भए भने महामारी सम्बन्धी जननीति निर्माण र लागू गराउनका लागि वकालत, पैरवी र जनदवाव सृजना गर्दछन् । पाउलो फ्रेरेले भनेका छन्, स्वास्थ्य शिक्षा जनतालार्ई सशक्तिकृत गर्ने प्रक्रिया हो । तसर्थ अहिले देखिएको कारोना भाइरसलगायत भविष्यमा उत्पन्न हुने यस्ता महामारीहरुको नियन्त्रणमा स्वास्थ्य शिक्षा दीर्घकालीन रणनीति र हतियार हुन सक्दछ ।
(लेखक खनाल त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या शिक्षा, केन्द्रीय विभाग, कीर्तिपुरमा स्वास्थ्य शिक्षा विषयको उप–प्राध्यापक पदमा कार्यरत हुनुहन्छ ।)