ट्रेण्डिङ

होमपेज / विचार

वैशाख १२ लाई सम्झिँदा‍‍...

एन् बि ‘प्रगल्भ’

नेपालगाथा २०७७ बैशाख १२ गते शुक्रबार २१:४७:१० मा प्रकाशित

विस. २०७२ सालको वैशाख १२ गते नेपालीहरुका लागि नबिर्सने दिन हो । यो दिन नेपालमा विनाशकारी भूकम्पले तहसनहस पारेको दिन हो । कसैले सोचेको पनि थिएन, यति ठूलो प्राकृतिक विपत्तिले अप्रत्यासित रुपमा धेरै जनधनको क्षति गर्नेछ भनेर । यो घटनाले मेरो मानसपटलमा पनि डेरा जमाइरहको छ । यो विपत्तीको समयमा म अध्ययनको शिलशिलामा काठमाडौंमा थिएँ । जहाँ म आफै यो विनाशकारी भूकम्पको प्रत्यक्षदर्शी थिएँ । पाँच वर्षपछि पनि २०७२ साल वैशाख १२ गते मैले भोगेका दिनचर्याहरु झलझली आँखामा आइरहन्छन् ।
शनिबारको दिन थियो । प्रायजसो मानिसहरु सामान्यतया घरमै बसेर आफ्नो बिदा मनाइरहेका थिए । केही मानिसहरु बिदाको दिनलाई घुमघाम, भेटघाट, मनोरञ्जनका रुपमा बिताइरहेका थिए । त्यस दिन काठमाडौं उपत्यकाको मौसम अलि भिन्न देखिन्थ्यो । कालो बादलले आकाशमा राज गरिरहेको थियो । पानी पर्लापर्ला जस्तो, हावाहुरी चल्लाचल्ला जस्तो । भनिन्छ नि, ‘आँधी तुफान आउनुअघिको सन्नाटा’ । हो १ त्यस्तै प्रकारको मौसम थियो वैशाख १२ गते । घडीको सुईले दिउँसोको १२ बजाउनै लागेको थियो । म अनि भाइहरु काठमाडौंको कोठामा बसेर अध्ययन गरिरहेका थियौं । अचानक ठूलो आवाजसहित पूरै घर हल्लिन थाल्यो । सारा जमिन हल्लिएर कोठाभित्रका सामानहरु यताउता ढल्न थाले । त्यो समय केही पनि सोच्न सकिएन । एक्कासी के भयो भन्ने अनुमान लगाउन गाह्रो भयो । धर्ती नै भासिन लागेको जस्तो भयो । जमिन थरथराउन थाल्यो एक्कासी । केही समयमा मैले भाइहरुलाई ‘भूकम्प आयो’ भने । हामी सबै निकै आत्तिएका थियांै । मान्छेको कोलाहल र चिच्याहटले गुञ्जायमान भयो सहर । एकैछिन अघिको सुन्दर र शान्तमय वातावरण कोलाहल र उजाडमय भयो । 
हामीहरु कोही कोठाको भित्तामा अडेस लाग्ने प्रयास ग¥यौं, कोही ढोकाको नजिक गएर ढोकालाई बलियो गरि समातेर अडेस लाग्न खोज्यौं । तर जमिन यसरी हल्लिएको थियो कि कुनै एक निश्चित ठाउँमा अडिनै गाह्रो भएको थियो । कोही खाट, कोही टेबुल तल छिर्न खोज्यौ तर मनमा डर थियो कि घरै पूरै भत्कियो भने त त्यो कमजोर खाट र टेबुलले के धान्न सक्ला ? न बाहिर जान नै सकिने अवस्था थियो । बाहिर जाउँ भने, त्यो अलमलमा कतै ठोक्किएर ज्यान जाने हो कि भन्ने डर मनमा थियो । भित्रै बस्दा पनि घरै भत्किएर च्यापिने डर त्रास मनमा थियो । निरन्तर जमिन हल्लिरहेको थियो । अलिक केही क्षणपछि घरबेटी आन्टी सबै आत्तिएर माथि तलाबाट तल आउनुभयो र हामी पनि बाहिर खुला ठाउँमा निस्कनु पर्यो भनेर बाहिर निस्क्यौं । त्यता घरअगाडि बीचमा सानो खाली ठाउँ थियो । वरपर चारैतिर ठूला–ठूला घरमात्रै थिए । यतिञ्जेलसम्म वरपर घरका सबै मान्छेहरु त्यहाँ जम्मा हुँदै थिए । कोही चिच्याउँदै, कराउँदै थिए त कोही बाटोमा दौडिरहेका थिए । केही महिला, साना केटाकेटीहरु रुँदै, कराउँदै दौडिरहेका थिए । सबैको आँखामा स्पष्ट डर, त्रास, भयको रुप देखिन्थ्यो । जमिनमा अडिएर बस्न पनि गाह्रो भइरहेको थियो । हामी सबै त्यो घरहरु बीचको खाली जमिनमा बसेर वरपरका घरलाई हेरिरहेका थियौं । यदि कुनै कमजोर घर आफूतिर ढल्न थाल्यो भने अर्कोतर्फ भाग्ने तयारीमा थियौँ हामी सबैजना । सबैले आफ्ना महत्वपूर्ण अंग आँखा र कानलाई एकदमै टाठा, चलाख बनाएर बसेका थियौं । त्यो क्षण यस्तो लाग्थ्यो, मृत्युलाई नजिकैबाट नियालिरहेका छौं । मृत्युको भयले सबैलाई चिन्तित बनाएको देखिन्थ्यो । काठमाडौंको त्यस्तो घनाबस्तीको बीचमा बाँच्ने आशा कमै देखिन्थ्यो । भाग्यवश, धेरै बेरसम्मको भूकम्पको झट्काले पनि हामी बसेको स्थान वरपरका कुनै पनि घर ढलेनन् । तर पनि मनमा डर भने कायम नै थियो । अब हामी त्यो ठाउँमा धेरै बस्ने पक्षमा थिएनौं । हामी केही त्यो भन्दा ठूलो चौरमा गएर आफूलाई सुरक्षित बनाउनका लागि त्यतातिर लाग्यौं । बाटोभरि मान्छेहरु त्रसित भएर भागाभाग गरिरहेका थिए । मेरो मानसपटलमा झट्ट एउटा नेपाली उखान याद आयो । ‘अनिकालमा बिऊ जोगाउनु, संकट कालमा जिउ जोगाउनु’ । हाम्रो बाजेले कुरा गर्ने क्रममा बेला–बेलामा यो भनाइलाई महत्वपूर्णका साथ भन्नुहुन्थ्यो ।
जीवनमा ठूलो संकट उत्पन्न भयो भने हामीले बाँच्ने कसरी भन्ने कुराको मात्र ख्याल हुँदोरहेछ । महाविपत्तिमा मात्र मान्छे आफ्नो असली रुपमा प्रस्तुत हुँदोरहेछ । उसभित्र रहेको घमण्ड, रिस, राग, लोभ, घृणा, स्वार्थ केही समयका लागि भए पनि कम हुँदोरहेछ । जीवन रहे, अस्तित्व रहे त सबै कुरा रहने हुन् । होइन भने हामीभित्र रहेको खराब आचरण स्वभावको कुनै अस्तित्व छैन र मानव जातिलाई संकट पारिरहेको छ । वैशाखको महिना भर्खरै नयाँ वर्ष लागेको थियो । त्यो भूकम्पले सारा नेपालीहरुका नयाँ–नयाँ सपना र योजनाहरु क्षणभरमै चकनाचुर बनाइदियो । हामी चौरमा पुग्दा सयौंको संख्यामा मान्छेहरुको भिंड जम्मा भएको थियो । त्यहाँ मान्छेहरुमा धेरै हल्ला खल्ला भइरहेको थियो । सबैमा एउटा अन्यौलताको स्थिति थियो । कोही धरहरा ढलिसक्यो भनिरहेका थिए । कोही वसन्तपुर दरबारका साथै पुराना मन्दिर र दरबारहरु । मेरो मस्तिष्कमा एक÷एक गरी सबै ऐतिहासिक पुरातात्विक सम्पदाहरु, धार्मिक मठ, मन्दिरहरु, काठमाडौंको घना बस्ती एकपछि अर्को दृश्यहरु आइरहेका थिए । विदाको दिन ती ठाउँहरुमा देशभित्र र देश बाहिरबाट आएका पर्यटकहरुको अवस्था के भयो होला । उपत्यकाको दृश्यावलोकन गर्न गएका मान्छेहरुको अवस्था के भयो होला भन्ने सोच आइरहेको थियो । गाउँ घरतिर फोन गरेँ । बाहिरतिरको अवस्था पनि त्यस्तै रहेछ । विस्तारै खबरहरु एकपछि अर्को आउँदै थिए । रेडियो, अनलाइन, फेसबुक र युट्युव विभिन्न माध्यमहरुबाट व्यापक रुपमा भूकम्पका बारेमा समाचार आइरहेका थिए । गोरखाको बारपाक केन्द्रविन्दु बनाएको उक्त महाविनाशकारी भूकम्पबाट गोरखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे धेरै क्षति भएका जिल्लाहरु रहेछन् । अब कोठाभित्र जाने बस्ने अवस्था थिएन । कोठाका बेड, विस्तराहरु खुला आकाश मुनिको चौरमा लाग्न थाले । हामीले पनि खुला आकाश मुनी बस्नुको विकल्प देखेनौं । भूकम्पका कम्पन्नहरु एकपछि अर्को निरन्तर आइरहेका थिए । महिला बालबालिका वृद्धवृद्धाहरुको अवस्था नाजुक देखिएको थियो । 
जनधनको क्षति मात्र होइन, भय र आतंकले मनमा दरिलो रुपमा डेरा नै जमाएको थियो । लाखौं मानिसको मनमा अब सबै कुरा सकियो भन्ने सोच पलाएको थियो । केही दिन पछि जरुरी काम परेर म बौद्धबाट गाडी चढेर बजारतिर निस्किएँ । जताततै भवन, मठ मन्दिर घरहरु भत्किएका थिए । रुख र विद्युतका पोलहरु ढलेका थिए । बाटोबाटोमा उद्दार टोलीहरु खटिरहेका देखिन्थे । सहर बजार कुरुप भएको देखिन्थ्यो । आफ्नो ज्यानको प्रवाह नै नगरी भूकम्पमा परेका नेपालीहरुको उद्दारमा ठाउँठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै विभिन्न देशबाट आएका उद्दार टोलीहरु खटिएको देखिन्थे । एम्बुलेन्स, अस्पताल, सेना, प्रहरीका गाडीहरु उद्दारमा दौडिरहेका थिए । बसपार्क, स्वयम्भू, कलंकी, सुन्धारा लगायतका क्षेत्रहरु जिर्ण देखिन्थे । टुँडिखेल र अन्य खाली ठाउँहरुमा त्रिपाल लगाएर मान्छेहरु बसेको देखिन्थ्यो । 
यही दुःखद् समयमा एकजना साथीलाई रगत आवश्यक परेकाले म नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा पुगेको थिएँ । त्यहाँ मैले स्वदेश तथा विदेशका विभिन्न संघसंस्थाहरुले पिडितहरुलाई राहत दिनका लागि सहयोग गरिरहेका देखें । यसरी सहयोग गर्नेहरुमा चिन, भारत, अमेरिका, जापान लगायतका देशहरु रहेका थिए । राहत सामग्रीलाई भूकम्पले असर पुगेका विभिन्न स्थानहरुमा पु¥याउने तयारी भइरहेको थियो । यो राहत वितरणको क्रम महिनौ दिनसम्म पनि चलिरह्यो । 
हाम्रो पिढिले यसअघि भूकम्पका बारेमा विसं १९९० सालको भूकम्पका बारेमा विद्यालयमा अध्ययन गरेको र कसैले भनेसुनेको बाहेक आफैले प्रत्यक्ष अनुभव गर्न पाएका थिएनौं । तर यो २०७२ सालको विनाशकारी भूकम्प जस्तो विनाशकारी भूकम्पले फेरि कहिल्यै पनि विनाश नल्यायोस् । यस्ता प्राकृतिक प्रकोपहरुको रोकथामका लागि हामीले बेलैमा सोच्नुपर्छ । यस्ता आइपर्ने प्राकृतिक प्रकोपहरुसँग जुध्नका लागि राज्यले हरबखत तयारी अवस्थामा राख्नुपर्छ । यस सम्बन्धी राज्यले मजबुझ तयारी भएर सधै सतर्कताका साथ बस्नु पर्छ । किनभने यस्तो विपत्ति न त पूर्व जानकारी दिएर आउछ न त कसैले भविष्यवाणी नै गर्न सक्छ । जुनसुकै वेला पनि यस्तो विपत्ती आउन सक्ने हुँदा हामी जो कोही पनि यस्ता विपत्तिको बारेमा जानकार हुनुपर्दछ । राज्यले सबैलाई यस्ता विपत्तिको बारेमा अवगत गराउनुपर्दछ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top