होमपेज / विचार
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् । ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ । प्रदुषण, खानपिनको अशुद्धता, तनाब तथा कृत्रिम जीवनशैलीको कारण सहरमा बस्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम छ । बाक्लो र साँगुरो बसेको कारण सरुवा रोगको प्रकोप सहरमा बढी हुनु स्वाभाविक हो ।
अहिले सहरलाई हेरेर लकडाउनको मोडालिटी तयार गरिएको छ । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, घरभित्र बस्नेजस्ता निर्देशिका सहरलाई हेरेर बनाइएको हो ।
-गाउँमा घर हुन्छ, एक दुइवटा कोठामा कोचिएर बस्नु पर्दैन । आफ्नो आँगन हुन्छ, खेतबारी हुन्छ । खेती हुन्छ, पशुपंक्षी पालिएका हुन्छन । पानी स्वच्छ हुन्छ, हावा स्वच्छ हुन्छ । घरहरु प्राय गुजुप्प नभएर दुरीमा हुन्छन् । तसर्थ यो कोरोना संक्रमणको समयमा घरभित्र बस्नु जरुरी छैन । आँगन, बारी, खेतमा जान सकिन्छ ।
-कोरोना भाइरस गाईभैंसी, बाख्राबोका तथा कुखुराबाट सर्दैन । तसर्थ पशुपंक्षी लालन पालन गर्न हुन्छ । दुध, दही, मोही, घ्यु, अण्डा, मासु खान हुन्छ ।
-आफ्नो खेत तथा बारीमा सागपात, फलफूल तथा अन्नको खेतीपाती गर्न हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिसंग ६ फिटको दुरी राखेर संगै काम गर्न मिल्छ ।
-आफ्नो घर तथा बारीमा हुँदा मास्क लगाउनु पर्दैन । गाउँमा बग्ने हावा अमृत समान हुन्छ । प्रचुर अक्सिजनले भरपुर हुन्छ ।
-हातलाई बिनाकाम नाक, मुख तथा आँखामा लग्नु हुँदैन । आफ्नो सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । साबुनपानीले पटकपटक हात धुनुपर्छ । स्यानिटाइजरको आबश्यक छैन ।
-गाउँमा पानी स्वच्छ हुन्छ । स्वच्छ भएपनि पानी भकभक उमालेर तथा सेलाएर खानु उपयुक्त हुन्छ ।
-कोहि बिरामी भएमा, दुख परेमा, मृत्यु भएमा एकअर्कालाई सहयोग गर्न हुन्छ, ६ फिटको व्यक्तिगत दुरी सहित ।
-कोरोना भाइरस हावामा उडेर आउंदैन । गाउँमा यो रोग मान्छेबाट आउने हो । नेपालमा कोरोना संक्रमण त्यति धेरै छैन । यो रोगले कसैको पनि मृत्यु भएको छैन । तसर्थ गाउँका मान्छेले एकअर्कालाई शंका गर्नुपर्दैन । कोहि व्यक्ति भारत लगायत अन्य देशबाट आएको छ भने गाउँमा थाहा हुन्छ । बाहिरबाट आएको मान्छेलाई अनिबार्य रुपमा ३ हप्ता क्वारेन्टाइनमा राख्नुपर्छ । उसलाई घृणा गर्नुहुँदैन । क्वारेन्टाइनमा रहंदा उसलाई तथा उसको परिवारलाई सहयोग र सान्त्वना दिनुपर्छ । क्वारेन्टाइनबाट भाग्न दिनुहुँदैन । ३ हप्तामा उसलाई रोग पुरै निको भएको हुन्छ । ज्वरो आइरहने, सुख्खा खोकी लागिरहने तथा सास फेर्न गाह्रो भए स्वास्थ्यकर्मीलाई बोलाएर जांच तथा उपचारको ब्यबस्था मिलाउनु पर्छ । निको भएपछि त्यो व्यक्ति हामीजस्तै स्वस्थ हुन्छ । अरुलाई रोग सर्दैन ।
-मौसमी रुघाखोकी पहिले पनि लाग्थ्यो, अहिले पनि लाग्छ । त्यसैले कोरोना संक्रमण हो कि भनेर डर मान्नु हुँदैन । आराम गर्ने, तातोपानी खाइरहने, अदुवा / बेसार / ज्वानो / कागतीपानी पकाएर खाइरहने, लसुन र प्याजको झोल बनाएर पिउने, पोषिलो खाना खाने, ज्वरो आयो / टाउको दुख्यो भने सिटामोल खाने, नुन पानीले कुल्ला गर्ने गर्दा मौसमी रुघाखोकी ठिक हुन्छ । ठिक नभए स्वास्थ्य केन्द्रमा जानुपर्दछ ।
-यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन । त्यस्ता हल्ला पत्याउनु हुँदैन । रेडियो सुन्ने, टेलिभिजन भएको ठाउँमा टेलिभिजन हेर्ने, स्वास्थ्यकर्मीको कुरा सुन्ने बानी बिकास गर्नुपर्छ । हल्ला र भ्रमले चिन्ता, डर र असुरक्षा अनुभूति हुन्छ ।
-गाउँमा पनि किनेर खाने चलन बढेको छ । अब हामी बदलिनु जरुरि छ । महामारीको असरले खानेकुरा नआउन सक्छ, कम आउन सक्छ । तसर्थ आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन । तरकारी, फलफुल, दुध, अन्न, नगदे बाली आदि लगाएर आफ्नो परिवारलाई पुग्ने खेती सबै जनाले गर्नुपर्छ । धेरै खेतबारी भएका व्यक्तिले उत्पादन गरेर बिक्रि गर्ने, त्यहि उत्पादन बिक्रि गरेर कमाउने लक्ष्य राख्नुपर्छ । जसको खेतबारी छैन, बाँझो रहेको अरुको खेतबारीमा उत्पादन गर्नुपर्छ । हामीले मेहेनत गर्दा व्यायाम हुन्छ, पसिना आउँछ, आफैले फलाएको खान पाइन्छ, ताजा दुध खान पाइन्छ । आफ्नो उत्पादनमा विषादीको डर हुँदैन ।
-कसैले सानोतिनो राहत ल्यायो भने सकभर लिनु हुँदैन । उपाय नभएकालाई दिनुपर्छ । अरुले दिन्छ कि भन्ने आशा गर्नु हुँदैन । भूकम्प आएपछि काठमान्डौ वरपरका गाउँमा खेती गर्न छोडेर मान्छे बाटोमा राहत कुर्न बसे । चाउचाउ, बिस्कुट र एउटा त्रिपालको लागि लाखौँको उत्पादन छोडे । त्यसैले आफ्नो कर्ममाथि विश्वास गर्नुपर्छ ।
-हामीलाई कोरोना संक्रमण भएपनि डर मान्नुपर्दैन । कोरोना संक्रमण भएका १०० जनामध्ये ८५ जनालाई सामान्य लक्षण देखिएर रोग आफै निको हुन्छ । बाँकी १५ % मध्ये आधिलाई उपचार गरे निको हुन्छ । बाँकी ७-८ % लाई अस्पताल भर्ना गर्नुपर्छ । १०० जनामा मृत्यु हुने २- ३ जना मात्र हो । यो तथ्य बुझ्नु बुझाउनु जरुरि छ । सहि सूचनाले तनाब हुँदैन ।
-सहरका मान्छेभन्दा गाउका मान्छे बलिया तथा निरोगी हुन्छन् । काम गर्ने, उकालो ओरालो हिंड्ने, स्वच्छ हावापानी हुने, आफ्नै उत्पादन खाने, खानामा मिसावट नहुने तथा सहरमा झैं अनेक रोगको सामना गर्नु नपर्ने भएकोले कोरोना भाइरसले गाउँमा बसेका मान्छेलाई एकदम थोरै असर गर्छ । तसर्थ गाउँ सबैभन्दा सुरक्षित हुन्छ ।
नेपालमा संक्रमितको संख्या बढ्यो भन्दैमा चिन्ता गर्नु पर्दैन
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ । अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन ।
-विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन ।
-विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन ।
-हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ । हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् ।
-३० जना संक्रमित मध्ये १ जना धेरै पहिले निको भइसकेका छन् । बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् । उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन । त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन ।
-अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् । हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ । तर लक्षण देखिएको छैन । यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण ‘ छैन ।
-यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस Mutation हुँदै गर्दा हामीकहाँ कमजोर Strain वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ । यो अनुसन्धानको बिषय हो ।
-भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ । अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित हुँदा मृतकको संख्या ४८६ मात्र छ । दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ ।
-लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ ।
-घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो । त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् ।
-सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन । कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो । नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् ।
-यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ ।
सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने मन ड्राइभर । ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन ।