होमपेज / विचार
आज नेपालमा लकडाउन (बन्दाबन्दी)को २५ औं दिन हो ।अघिल्लो बर्ष पुसको तेस्रो साता तिर चिनमा कोरोना नामको भाइरस देखा पर्यो भन्ने समाचार छिटपुट रुपमा आयो । सुनेर हामीले कुनै वास्ता नै गरेनौं किनकि त्यो हाम्रो सरोकारको बिषय नै थिएन ।हामीले कहिल्यै सोचेनौं कि त्यही भाइरसका कारण हामी पनि कुनै दिन घरभित्रै बन्दी हुनेछौं अथवा भोकभोकै पर्नेछौं अथवा सडकमै अलपत्र पर्नेछौं अथवा रोजगारी गुमाउनेछौं अथवा हप्तौं पैदल हिंडेर आफ्नै गाउँ जान बाध्य हुनेछौं ।हामीले त्यति बेला रत्तिभर सोचेनौं कुनै दिन कोरोना भाइरस हाम्रै आसपास आइपुग्नेछ र हामी त्रसित भएर घर भित्रै लुक्नु पर्नेछ ।वास्तवमा हामीले मात्रै हैन यो अवस्थाको विश्वमा कसैले पनि अनुमान गरेको थिएन । गरेको हुन्थ्यो त पक्कै पनि अहिलेको भयावह स्थिती पैदा हुने थिएन । विश्वभर अहिले सम्म कोरोना भाइरस ( कोभिड १९ ) बाट संक्रमित हुनेहरुको संख्या २१ लाख भन्दा बढी पुगेको छ भने करीव डेढ लाख( एक लाख छयालीस हजार भन्दा बढि)मानिसले उक्त भाइरसका कारण ज्यान गुमाइसकेका छन ।
अनपेक्षित रुपमा झण्डै साढे तीन महिनाको अवधिमा कोभिड १९ ले विश्वलाइ हायलकायल बनाइदिएको छ ।आर्थिक राजनैतिक एवम् आणविक हतियारले समेत सम्पन्न राष्ट्रहरु यतिबेला त्यही एउटा सुक्ष्म भाइरसबाट आतंकित छन । साँच्चै भन्ने हो भने कोरोना भाइरसले यतिबेला मानवताको गतिलो पाठ सिकाएको छ तर मान्छेले अझै चेतिसकेको छैन ।विश्वब्यापिकरण वा भूमण्डलीकरणको एउटा माध्यम मानिसको प्रवाह यानिकी मानव भ्रमण कोरोना बिस्तारको उत्तम साधन बनेको छ । व्यापार, रोजगारी वा आम्दानीको गतिलो श्रोत को खोजिमा मानिसहरु विभिन्न देशहरुमा आवतजावत गरिरहेका छन ।त्यस्तै अध्ययन गर्ने र भ्रमण गर्ने शिलशिलामा पनि मानिसहरु संसारभर बिस्तार भैरहेका छन ।तिनै मानिसहरुको माध्यम बाट कोरोना भाइरस संसारभरी फैलिइरहेको छ ।हाम्रो जस्तो देश जहाँ अधिकांश मानिसहरु बाध्यता र केही रहरले बिदेशिएका छन जो प्रतिकुल परिस्थितिका कारण धमाधम घर (देश) फर्किए आज तिनै भए कोरोना भित्र्याउने माध्यम ।
प्रश्न उठ्छ के बिदेश जानु गलत थियो/ हो ? के बिदेशबाट फर्किएकाहरुलाइ समाजमा आउनै दिनु हुन्न ? के उनिहरु दोषी हुन् ? पक्कै होइन न बिदेश जानू गलत हो न उनिहरु फर्किएर समाजमा आउनु गलत हो न त उनिहरु दोषी नै हुन । मानिस कुवाको भ्यागुतो होइन एकठाउँमा मात्रै जमेर बस्ने । मानिस त स्वतन्त्र र फिरन्ते स्वभावको प्राणी हो ।तत्कालका निम्ति यो जटिलता परिस्थितीजन्य कुरा हो ।आज छिमेकीलाइ परेको समस्या भोलि आफ्नै घरमा पर्न सक्छ ।स्वभाविक रुपमा मानिसले संकटको अवस्थामा घर आउन चाहान्छ ।सुखदुख परिवार र आफन्तसंग बाँड्न चाहान्छ ।यस्तो अवस्थामा भर्खर बिदेशबाट फर्किएकाहरु प्रती समभाव राख्नु पर्छ ।घृणाको दृष्टिले हेर्नू हुँदैन । तर तत्काल बाहिरबाट खासगरी बिदेशबाट आएका ब्यक्तिहरु नै कोरोनाको उच्च जोखिममा रहने भएकाले उनिहरु स्वयम् नै सावधान रहन आवश्यक छ ।आफ्ना परिवारका प्रिय जन मात्रै हैन नातागोता र छरछिमेकका लागि समेत उनिहरु सावधान हुनु पर्छ ।नजिकमा रहेका सरकारी क्वारेन्टाइन वा घरमै पनि सेल्फ क्वारेन्टाइन यानिकी अरुको प्रत्यक्ष सम्पर्कबाट अलग्गै बस्नु पर्छ । र नजिकको स्वास्थ्य संस्थामा गएर जति सक्दो छिटो आफ्नो स्वास्थ्य जाँछ गराउनु पर्छ ।आफन्त र छरछिमेकले पनि उनलाइ त्यसै गर्न सुझाव दिनु पर्छ ।अहिले सम्मको भोगाइमा हामी मध्य धेरैले यो कुरा थाहा पाइ सकेका छौं र भने अनुसार गरेका पनि छौं ।
समग्र विश्व नै कोभिड १९ बाट डगमगाइरहेको अवस्थामा हाम्रो जस्तो सानो र अल्पविकसित देश अछुतो रहने कुरै भएन यद्यपि अहिले सम्मको सावधानिले १६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको छ ।यसैको कारण कसैको ज्यान गुमेको छैन र एकजना निको भैसकेका छन ।सावधानी अपनाइएको छ भने संक्रमितको उपचार र औषधि उपकरणको जोहो गर्ने काम समेत भैरहेको छ । हरेक जसो स्थानिय निकायमा क्वारेन्टाइन को धेरथोर ब्यबस्थापन भएको छ भने सामन्यतया औषधिको समेत ब्यबस्थापन भएको छ ।उच्चस्तरीय संयन्त्र मार्फत सरकारले यस सम्बन्धी काम गरिरहेको छ ।धेरैजसो जिल्लाहरुमा परिक्षणको काम भैरहेको छ ।शंकास्पद बिरामीहरुलाइ आइसोलेसनमा राखिएको छ । सामुदायिक संक्रमण भै महामारी नहोस भन्नका खातिर देशलाइ लकडाउन गरिएको छ ।
फेरि प्रश्न उठ्छ के यति ब्यबस्थापन मात्रै काफी छ त ?के यति भए पछि हामी सुरक्षित छौं त ? के सरकारले उत्कृष्ट कार्य क्षमता प्रदर्शन गरिरहेको छ त ? पक्कै छैन, यति मात्रै ब्यबस्थापन काफी छैन ।अहिलेको अवस्था लाई हेरेर सम्भाबित महामारी लाई कम आँकलन गर्न मिल्दैन ।भोलि भयावह स्थिती पनि सृजना हुन सक्छ त्यसका निम्ति थप तयारी आवश्यक छ ।खासगरी भेन्टिलेटर सहितका उपचार कक्ष र सुरक्षित आइसोलेसन को ब्यवस्था गर्नु पर्ने र थप औषधि उपकरण को ब्यवस्था गर्न आवश्यक छ ।अहिलेको अवस्थामा झट्ट हेर्दा हामी सुरक्षित देखिए पनि लकडाउनको कडाइका साथ पालना हुन सकेको छैन यसले भोलि हामी जोखिममा पर्ने देखिन्छ ।त्यसका निम्ति लकडाउनको पूर्ण पालना हुनु जरुरी छ ।अहिलेको अवस्थामा सरकारले उत्कृष्ट कार्यकुशलता देखाएको छ भन्न सकिन्न । खासगरी परीक्षणको काममा ढिलाइ भैरहेको र जिल्ला तहमा बिश्वसनिय परिक्षण मेसिन र सामाग्री नहुनु दुखद पक्ष हो ।अर्कातिर श्रमिक र मजदुरहरुलाई न्यायोचित राहत बितरण हुन नसक्नु र घर जान चाहनेहरुलाइ उचित ब्यबस्था गर्न नसक्नु पनि सरकारको कमजोरी देखिन्छ ।तर यति हुँदैमा सरकारले केही पनि गर्न सकेन भन्न मिल्दैन ।सरकारले धेरै कामहरु गरेको छ जुन माथी मैले उल्लेख गरेको छु ।त्यो बाहेक स्थानिय निकाय मार्फत राहत बितरणको काम पनि भैरहेको छ ।तर राहत अपुग र वितरण प्रणालीमा केही गुनासा भने पक्कै आएका छन ।यसलाइ थप प्रभावकारी बनाउन आवश्यक छ ।सीमा नाकामा अलपत्र परेकाहरुलाइ सरकारले उद्धार पनि गरेको हो ।अहिले कतिपय घर पुगि सकेका छन भने कति क्वारेन्टाइनमा छन ।अहिले देश भित्रबाट खासगरी काठमाडौ बाट घर हिंडेका मजदुरहरुको यात्राको सामाजिक संजालमा तस्वीरहरु र मिडियामा भिडियोहरु आइरहेका छन जसका कारण सरकार आलोचित छ ।यसको समाधान का लागि प्रदेश र स्थानिय सरकार संग समन्वय गरि सरकारले तुरुन्तै काम गर्नु पर्ने देखिन्छ ।
केही ठाउँमा प्रहरीको खराव शैली र लाठिचार्जको बिरोध भएको छ । सत्यतथ्य नबुझी लाठिचार्ज गर्नु र अभद्र व्यवहार गर्नु गलत हो ।यस्तो अवस्थामा पहिलो पक्ष हामी जनता -अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौं, दोस्रो पक्ष प्रहरी प्रशासन - ले सत्यतथ्य बुझी, धैर्य पूर्वक जनता संग राम्रो व्यवहार गरौं ।कहिंकतै कमिकमजोरी भएका छन भने भूल सुधारौं गल्ती भएको भए कारवाही गरौं तर यहि बिषयलाइ लियर सिंगो प्रहरी प्रशासनको बिरोध र आलोचना नगरौं ।सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबै हाम्रै निम्ति खटिएका हुन् उनिहरुलाइ हामीले सक्दो सहयोग गरौं ।
नेपालमा करीव ७० प्रतिशत भन्दा धेरै मानिस कृषि पेशामा संलग्न छन् ।तथ्यांक त म संग छैन तर अधिकांश मानिसहरुको कहिं न कहिं जग्गा जमिन र घर छन ।दुर्गम ठाउँ वा ग्रामीण भेगबाट त्यस्ता मानिसहरु शहर र बजार क्षेत्रमा आइ सार्वजनिक जग्गामा सानितिनो वास बनाइ बसेका छन ।जो दैनिक मजदुरी गरेर खान्छन भने पहाडमा उनिहरुका जग्गा जमिन बाँझै छन केहिले भने सिजनमा गएर खेतिपाती लाउने पनि गरेका हुन्छन ।कतिपय मानिसहरु परिवार सहित सहर र बजार क्षेत्रमा बसेजा छन ती पनि ज्याला मजदुरी नै गर्छन यद्यपि गाउँमा उनिहरुको घर छ ।अहिले लकडाउनको प्रत्यक्ष मारमा तिनै मानिसहरु छन जो दैनिक ज्याला मजदुरी गरेर खान्छन । कतिपय विध्यार्थी छन जो लकडाउनका कारण घर जान पाएनन डेरा गरि बस्छन जसको खाने खर्च सकियो । सरकारले उनिहरुलाइ मापदण्ड बनाएर राहत बितरण गर्यो तर उनिहरु धेरै जसो मापदण्डमा परेनन किनकी उनिहरुको नागरिकता वा मतदाता परिचय स्थायी ठेगाना अर्थात आफ्नो घर भएको ठाउँको छ । संकटको बेला स्वभाविक रुपमा जो जहाँ छन त्यहिं खाने बस्ने ब्यवस्था गर्नु पर्छ ।अहिले पुनः वडा सरकारले सबैलाइ अवस्था हेरी राहत बितरण गरेको छ ।यहाँ मैले माथी उठाएको कृषि पेशा र घरबासको कुरा छ नि वास्तवमै यसबारेमा सबैले इमानदारी पूर्वक सोच्न जरुरी छ ।के हाम्रो अवस्था दुई हप्ताको लकडाउन ले भोकै बस्नु पर्ने हो त ? गाउँमा खेतबारी किन बाँझै छन ? यस बारेमा अब त हामीले सोच्नु पर्ने बेला भो कि ?
अन्तमा मानिसलाइ जन्मभूमी र आफ्नो घर भन्दा प्यारो अरु केही छैन ।आपतबिपत र दुखमा मानिसले आफन्त र आफ्नो घर सम्झन्छ र जसरी पनि त्यहाँ पुग्न चाहान्छ बरु मर्न परे पनि आफ्नै घर किन नमर्ने भन्ने लाग्छ मानिसलाइ ।मानिस सुखभोगी प्राणी हो जसको खोजिमा ऊ घर र आफन्तलाइ छोड्न राजी हुन्छ तर जब आफू माथी संकटको बादल मडारिन्छ तब आफन्त र घर नै उसको पहिलो रोजाइ हुन्छ ।घर भन्दा प्यारो स्वर्ग अन्त कतै छैन ।तसर्थ अहिलेको अवस्थामा तिनवटै तहका सरकारले समन्वय गरि घर जान भनी हिंडेका र बाटामा दुख पाएकाहरुलाइ सुरक्षित रुपमा उनिहरुको गाउँ सम्म पुग्ने ब्यवस्था गरिदिनु पर्छ ।स्थानिय सरकारले उनिहरुको उचित बसोबास मिलाइदिनु पर्छ ।नागरिक समाजले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्छ ।सरकार हामी सबैको हो सबै मिली यसका राम्रा कामको साथ र समर्थन गरौं ।कमिकजोरी देखिएमा खवरदारी गरौं र रचनात्मक सुझाव दिउँ ।लकडाउनको पालना गरौं । अप्ठेरोमा परेकाहरुलाइ सकेको सहयोग गरि सहानुभुती र मानवताको प्रदर्शन गरौं ।