ट्रेण्डिङ

होमपेज / अन्तरबार्ता

'समृद्धिले नै हिंसा रहित समाजको निमार्ण गर्छ' – उपप्रमुख ढकाल [अन्तरवार्ता]

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:१६:२७ मा प्रकाशित

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताउनु भएको छ ।  महिला हिंसा विरुद्धको विश्वव्यापी रुपमा मनाईने १६ दिने सचेतना अभियानको सुरुवात वीरेन्द्रनगर नगरपालिका सहित अन्य संस्थाहरुको समायोजनमा र्याली सहित, कोणसभा, दीपावली गर्दै मनाइएकाे छ। महिला हिंसा विरुद्धमा ढकालका प्रतिवद्धताहरु के छन् त  ? उपप्रमुख ढकालसंग त्रिभुवन बिसीले गर्नुभएको कुराकानी ।

महिला हिंसा विरुद्धको अभियान कसरी सञ्चालन भैरहेको छ ?

महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वव्यापी रुपमा मनाइने अभियान हो । वीरेन्द्रनगर नगरपालिका नै यस अभियानको मुल आयोजक भएर अभियान सञ्चालन भइरहेका छन् । यो अभियानको मुल आयोजक वीरेन्द्रनगर नगरपालिका भएता पनि यहाँ भएका सम्पुर्ण राजनीतीक दलका महिला संगठनहरु, अन्तर पार्टी महिला सञ्जाल, लोकतात्रिक सञ्जाल तथा सम्पुर्ण सामाजिक संगस्थाहरु, सहकारीहरु, नागरिक समाज सबै मुल आयोजक समितिमा रहने गरी साझा रुपमा अभियान सञ्चालनमा सहभागी भएका छन् । राज्य जबसम्म महिलाको पक्षमा हुँदैन जबसम्म महिलाका मुद्दालाई प्रमुख सवालको रुपमा लिइदैन, महिला अधिकारको विषयलाई प्रमुखताका साथ लिदैन, जबसम्म भएका नीति नियमहरुलाई कार्यान्वयनका लागि राज्यले पहल गर्दैन, तबसम्म जति अभियान चाले पनि त्यो निर्णायक विन्दुमा पुग्न सक्दैन । तसर्थ राज्य कुरुप हुन पाइदैन भन्ने हिसाबले चालेको याे अभियानमा राज्यले सभ्य समाज निमार्णका लागि सहकार्य गर्न सँगसँगै लाग्नुपर्छ । यही कुरालार्इ मध्य नजर गर्दै महिलाहरुको अधिकारको लागि स्थानीय सरकार जिम्मेवार हुनुकाे नाताले हामीहरु लागि परेका छौँ ।

तपाईहरु महिलाकै लागि लड्नुभयो, महिलाहरुको लागि धेरै आन्दोलन गर्नुभयो । अहिले स्थानीय सरकारको उपप्रमुख हुनुहुन्छ । अब तपाइले महिलाको पक्षमा गर्ने निति नियमहरु कस्ता हुन्छन् ?

महिला अधिकारलाई राजनितिक अधिकार भन्दा बाहिर राखियो भने त्यसले सार्थकता पाउदैन । राजनितिक परिवर्तनबाट महिला अधिकार फरक कुरा हो । महिलाका मुद्दाहरु फरक हुन् भन्ने ढङगले हामीले छलफल चलायाैं । हामीले याे कुरालार्इ बुझ्यौँ भने त्यो निकै फरक हुन्छ । आजभन्दा एक सय वर्ष अगाडि पतिसंगै सति जाने हाम्रो समाजमा एक सय वर्षको अन्तरालमा राष्ट्र प्रमुख महिला हुनुहुन्छ । सभामुख महिला हुनुभयो । प्रधानन्यायाधीस महिला हुनुभयो । कसरी यस्तो सफलता पायो त देशले  भन्ने सन्दर्भमा, राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसंगै २००८ सालमा नेपालको अन्तरिम संविधानले महिलालाई संविधान सभाको चुनावमा भोटहाल्ने अधिकार दिएको छ । चुन्न र चुनिन दिएको त्यहाँबाट अधिकारको लडाँइ सुरु भएको छ । २००८ सालमा सुरु भएका कुराहरु २०७२ सालको संविधानमा समावेश भएका छन् । यति लामो समय पछि मात्रै राजिनितिक लडाँईबाट आएका कुराहरु सम्बोधन भएका छन् ।
संघीय सरकारले नीति बनाउछ तर कार्यान्वयन स्थानीय सरकारले नै गर्छ । स्थानीय सरकारले महिला अधिकारको बारेमा जति नजिक गएर सम्बोधन गर्ने प्रयास गर्नु पर्छ त्यति नै यसले सार्थकता पाउँदा खेरी हामी अत्यन्त संवेदनशिल छौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमा यस विषयमा छलफल चल्ने गर्दछ । जति पनि महिला हिंसा विरुद्धका मुद्दाहरु प्रहरीकोमा जान्छ । यस विषयमा प्रहरीलाई निस्पक्ष रुपमा छानविन गर्न दिनुपर्दछ । कुनै पनि जनप्रतिनिधिहरुले महिलाको मुद्दामा बाध्न नहुने कुरामा हामीले प्रतिवद्धता जनाउनु पर्छ ।

'समृद्ध नेपाल, सुखी नेपाली' हुनको लागि प्रत्येक नागरिक सुखी हुनुपर्छ, समृद्धि हुनुपर्दछ । त्यसको लागि हिंसा रहित स्वच्छ समाजको अावक्कयकता पर्दछ । हामी यसमा प्रतिवद्ध छौँ । हामीले वीरेन्द्रनगरको लागि नारा तयार गरेका छौँ ‘महिला मैत्री नगर, छोरीको लागि गर्वको नगर' भनेर । वीरेन्द्रनगर नगरपालिकामा जन्मिने छोरीले गर्व गर्नुपर्छ । म यो नगर पालिकामा छु र म हरेक तरिकाले सुरक्षित छु भनेर महसुस गर्ने नगर बन्नुपर्छ भनेर छोरी जन्म बचत कार्यक्रम लागु गरेका छौँ ।
गर्भमा बालक या बालिका के छ भनेर पहिचान गरेर गर्भबाट बच्चा जन्मिन नदिने स्थिति छ है भनेर तथ्यांकमा आईसके पछि यसलाई निरुसाहित गर्नुपर्छ भनेर छोरी जन्मियो भनेर जन्मदर्ता गर्न आउँदा नगद रु एक हजार सहित बैंक खाता खोलिदिने र उसको सम्मान गर्ने नीतिलार्इ पास गर्यैा। अहिले त्यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । त्यो काम सफल भएको छ मानिसहरु खुुसी भएका छन् । म जन्मिदा खेरी स्थानीय सरकारले सम्मान गरेको थियो भनेर गर्वको अनुभुति होस् भनेर त्यो कुरालाई जोडेका छौँ । हामिले महिला हिंसालाई स्वास्थ्यसंग पनि जोडेका छौँ ।

नगरपालिकाले यस्ताे निर्णय गर्दैमा महिला विरुद्ध हुने जति पनि हिंसाहरु छन् त्यसको अन्त्य हुन्छ जस्तो लाग्छ ?

यो एउटा अभियान हो । अभियान सुरुवात गर्यौं भने अन्त्य हुनुपर्छ । कुरा हेर्दा सानो हुन्छ तर त्यो कुराले प्रभाव राम्रो पारेकाे हुन्छ । आजभोली हामीले २, ४ पैसा जम्मा गरिदिन्छौँ जसका कारण भोली उसलाई पढाउन सहयोग होस् । बुबा आमाको सोच्ने तरिका नै फरक भएको छ । यदि महिलाको शरीरमा तलमाथि भयो भने त्यहाँ महिला हिंसा भएको मानिन्छ । हरेक दृष्टिकोणले महिलाहरुलाई सशक्त ढंगले अघि बढ्नुपर्छ भन्ने हिसाबले हामी लागि परेका छौँ । अहिलेको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाका महिलाहरु सुत्केरी हुनको लागि नजिकको बर्थिङ सेन्टरमा जानुस् वा अथवा प्रदेश अस्पतालमा जानुस् त्यहाँ जानकाे लागि एम्बुलेन्स खर्च नगरपालिकाले तिरिदिन्छ । अहिले पनि नगरपालिकाको केही क्षेत्रहरु भौगोलिक दृष्टिले विकट मानिन्छन् । केही क्षेत्र टाढा छन् यहाँ आउने एम्बुलेन्सलार्इ दिने भाडा नभएर पनि कतिपय दिदी बहिनी घरमा नै सुत्केरी हुने अवस्था छ । अहिलेको अवस्थामा फोन गरेर वा अन्य तरीकाले नगरपालिकालाई सम्पर्क गरेर उहाँहरु स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँछन् ।

महिला अधिकार कर्मीको राज्यसत्ता माथि महिलाकै अधिकार सम्बन्धी धेरै पश्न उठाएका छन् के गर्नु हुन्छ अब तपाई ?

राज्यले महिला माथि विभेद गरेको छैन । संविधानले समावेशी नेपाल भनिसकेको छ । संविधानको विभिन्न धारा उपधारामा महिलाको हक सुनिश्चित गरेकाे छ । महिला भएकै कारण कुनै पनि विभेद  गरिनु हुँदैन । नेपालको संविधानले महिला अधिकार स्थापित गरिसकेको छ । राज्य नीति नियम महिलाको विपक्षमा छन् भन्न मिल्दैन । संविधानले अधिकारको लडाँइ अन्त्य गरेको छ । अबको यात्रा भनेको समृद्धिकाे हो । समृद्धिले नै हिंसा रहित समाजको निमार्ण गर्ने छ । अब हामीले आफ्नो सोचाईमा परिवर्तन गर्नुपर्छ । अबको काम भनेको कानुन बनिसकेको छ त्यो कुरालाई कानुन अनुसार कार्यन्वय गर्ने कुरामा जोड दिनुप¥यो । व्यवहारिक रुपमा कार्यान्वयन भएका नीति नियमहरुलाई कहाँ कमजोर छ । पत्ता लगाएर त्यसको समाधान तर्फ सबै एकजुट भएर लाग्नुपर्छ । अहिलेको अवस्थामा नेतृत्व तहमा जानको लागि हामी महिलाहरु अब खरो रुपमा उत्रिन जरुरी छ । नेतृत्व महिला भएको कारण हैन प्रतिस्पर्धा र सक्षमताको साथ अघि बढे पछि हामी महिलाहरु पनि नेतृत्वमा आउन सक्छौँ । तर सधै भरी महिलाको नारा मात्र लगाएर बस्ने हो भने म आरक्षणमा मात्र बस्ने हो । नेतृत्व जहिले पनि प्रतिस्पर्धामा मात्र हुन्छ । अहिलेको अवस्थामा सामाजिक रुपमा मात्रै नभएर राजनितिक रुपमा पनि महिलाहरुलाई सक्षम बनाउन जरुरी छ । समाजमा हुने महिला हिंसा विरुद्धका घटनाहरु नियन्त्रणको लागि सम्पुर्ण तहका मानिसहरुको साथ सहयोगको आवश्यकता छ ।

अहिलेको अवस्थामा महिला हिंसा विरुद्धको अभियान नभएर लैङ्गिक हिंसा विरुद्धको अभियान भयाे भने याे अभियानले भझै बढी सार्थकता पाउछ की ?

किन नपाउनु पाउँछ । हिंसा त महिलालाई मात्र नभएर पुरुषलाई पनि छ । अहिलेको अवस्थामा धेरै पुरुषले सम्बन्ध विछोडका मुद्दाहरु हाल्नु भएको छ । हिंसा भन्ने कुरा जसलाई पनि पर्न सक्छ हाम्रो मान्यता भनेको हिंसा रहित समाज निमार्ण गर्नु हो । महिला हिंसा मात्र नभएर अब लैङ्गिकताका कुरा उठाएर हामी अगाडि बढ्यौ भने सबैको साझेदारी रहन सक्छ ।

तपाईहरु निर्वाचित भएको दुई वर्ष भैसकेको छ । अब तीन वर्षको अवधिमा महिलाका पक्षमा के गर्ने साेच बनाउनुभएकाे छ ?

हामीले वीरेन्द्रनगर नगरपालिकालार्इ महिला मैत्री नगर र बालबिवाह अन्त्य भएको नगर हुनेछ भन्ने परिकल्पना गरिसकेका छौँ । बालविवाहको अन्त्य कानुनले गरिसकेको छ । व्यवहारिक रुपमा अहिले पनि समस्याहरु छन् । व्यवहारमा पनि बालबिवाह अनन्त्य भएको घोषणा भएको अनुभुति गर्ने अभियानमा छौँ । महिला हिंसाको एउटा कारणलाई आर्थिक रुपमा पनि जोडेका छौँ । महिला स्वरोजगारलाई जोडेका छौँ । वीरेन्द्रनगर नगरपालिकामा हेल्प डेक्स स्थापना गरेका छौँ । महिला दिदी बहिनी, जेष्ठ नागरिक पनि आउनुहुन्छ, जसले समस्या भन्न मात्रै जान्नु हुन्छ । उहाँहरु एउटा निवेदन कसरी लेख्ने भन्ने कुरा जान्नु भएको छैन त्यसको लागि हेल्पडेक्स स्थापना गरेका हौँ । महिलाहरुको लागि सुरक्षित आवास गृह निर्माण गर्दैछौँ । महिलाको स्वास्थलाई एकदमै जोड दिएर अगाडि बढेका छौँ । प्रत्येका विद्यालयमा प्रमुख उपप्रमुख सहित एउटा योजना बनाएका छौँ । किशोर किशोरी संम्बाद कार्यक्रममा महिला हिंसा विरुद्धका कुराहरु जोडेर राखेका छौँ । सुरक्षित समाजको परिकल्पना गरेका छौँ । मलाई विश्वास छ परिवर्तन हुन्छ परिवर्तनको सुरुवात हामीबाट नै हुन्छ जस्तो लाग्छ । यसको लागि सबैको सहयोग र साँझेदारीको आवश्यकता छ सबैको सहयोग, सल्लाह र सुझावको अवश्यकता छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top