ट्रेण्डिङ

होमपेज / खेलकुद

पौडीमा बागमतीको अग्रता कायमै

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३

नेपालगाथा २०८३ मंसिर ११ गते बिहीबार २०:१४:१९ मा प्रकाशित

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत तेस्रो दिन बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । अंक तालिकामा बागमती प्रदेशले अग्रता कायमै राखेको छ । नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा भइरहेको प्रतियोगीतामा बागमती प्रदेशले १२ स्वर्ण पदक, ७ रजत, ७ कास्य गरी कुल २६ पदकसहित अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एनआरएनए टीम ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १५ पदक प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबले ६ स्वर्ण पदक, १० रजत, १३ कास्य गरी कुल २९ पदक जितेको छ भने चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत, १२ कास्य गरी कुल २७ पदक जितेको छ । पाँचौ स्थानमा रहेको कोशी प्रदेशले २ स्वर्ण र छैठौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले हालसम्म १ स्वर्ण ३ रजत र १ कास्य पदक गरी कुल पाँच पदक प्राप्त गरेको छ ।

पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले स्वर्ण जित्ने क्रममा ५८.२२ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि सन् २०२५ मा अनुभव सुब्बाको नाममा ५९.५४ सेकेन्डको कीर्तिमान रहेको थियो । त्यस्तै यस इभेन्ट्समा पुलिसका इर्भिन श्रेष्ठले रजत जित्दा पनि पुरानो कीर्तिमानलाई पछि पारेका थिए । इर्भिनले ५९.०४ सेकेन्डमा पुरा गरेका थिए । कास्य जित्ने आर्मीका सौर्य बहादुर सिंहले १ मिनेट ००.५३ सेकेन्ड समय लगाए ।

यस्तै २०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । कोशी प्रदेशका विकास कुमालले आफ्नै पुरानो कीर्तिमानमा सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते । सुदूरपश्चिमका अर्थभ सिंहले रजत जित्ने क्रममा २ मिनेट ४०.०५ सेकेन्ड र कास्य जित्ने पुलिसका जडेन श्रेष्ठले २ मिनेट ४४.९६ सेकेन्डमा पुरा गरेका थिए ।

पुरुष ५० मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्ने क्रममा बागमतीका अभिभ प्रधानले २८.९५ सेकेन्डमा पार गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरे । यसअघि उनको नाममा २८.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । त्यस्तै आर्मीका जडेन श्रेष्ठले २९.९० सेकेन्डमा पार गर्दै रजत र बागमतीकै रेअन्तबहादुर श्रेष्ठले २९.९२ सेकेन्डमा कास्य पदक जिते ।

४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ कीर्तिमान बनेको छ । बागमती प्रदेशका रेअन्त श्रेष्ठ, आरिक कर्माचार्य, बशिष्ठ राज शाही र अभिभ प्रधानले ३ मिनेट ४५.७५ सेकेन्डको कीर्तिमान बनाउँदैं स्वर्ण जिते । त्यसअघि सन् २०२५ मा अभिभ, जडेन, रेअन्त र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नेपाल पुलिस क्लबले ३ मिनेट ५१.७५ सेकेन्डसहित रजत र ३ मिनेट ५५.९७ सेकेन्डसहित आर्मीले कास्य पदक जितेको छ ।

प्रतियोगिता अन्तर्गत ४०० मिटर फ्रिस्टायलमा पुलिस क्लबका काल्किन श्रेष्ठले स्वर्ण (४ मिनेट २०.११ सेकेन्ड) पुलिसकै मयोन श्रेष्ठले रजत (४ मिनेट ३०.८८ सेकेन्ड), सुदूरपश्चिमका अर्थभले कास्य पदक (४ मिनेट ३२.८१ सेकेन्ड) जिते । २०० मिटर इन्डिभिज्युअल मिडलेमा एनआरएनए टिमकी लिलीले स्वर्ण (२ मिनेट ३३.६७ सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (२ मिनेट ३३.८९सेकेन्ड) र एनआरएनए मिखा काया थापाले कास्य (२ मिनेट ४६.९४सेकेन्ड) पदक जितिन् ।

महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुअनाले स्वर्ण (१ मिनेट १०.४३ सेकेन्ड), एनआरएनएकी लिलीले रजत (१ मिनेट १२.०३ सेकेन्ड) र पुलिसकी देभान्सीले कास्य पदक (१ मिनेट १६.२६सेकेन्ड) हासिल गरिन् ।

महिला २०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअनाले स्वर्ण (२ मिनेट ४९.३४ सेकेन्ड), एनआरएन लिलीले रजत (२ मिनेट ५८.६४ सेकेन्ड) र आर्मीकी रितिका भूमिले कास्य पदक (३ मिनेट ०३.५२ सेकेन्ड) जित्न सफल भईन् । महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (३३.२७ सेकेन्ड), बागमतीकी आर्या महर्जनले रजत (३३.४३ सेकेन्ड) र पुलिसकी देभान्सीले कास्य पदक (३४.११ सेकेन्ड) जितिन् ।

महिला ४ गुणा २०० मिटर फ्रिस्टायलमा रिलेमा आर्मीले स्वर्ण (९ मिनेट ५८.७३सेकेन्ड), बागमतीले रजत (१० मिनेट ०७.५२ सेकेन्ड) र पुलिसले कास्य पदक (१० मिनेट ४१.८६ सेकेन्ड) जितिन् । बिहीबारको अन्तिम इभेन्टस ४ गुणा ५० मिटर मिडले रिलेमा आर्मीले स्वर्ण (१ मिनेट ५६.०८ सेकेन्ड), बागमतीले रजत (१ मिनेट ५७.५३ सेकेन्ड) र पुलिसले कास्य पदक (१ मिनेट ५८.६४सेकेन्ड) जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top