ट्रेण्डिङ

होमपेज / समाज

'प्रविधितर्फ बढ्दै मप विश्वविद्यालय '

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार २२:१२:५४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय समयानुकुल आफूलाई परिवर्तन गर्दै अघि बढिरहेको बताइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायले आयोजना गरेको तीन दिने ई–तालिमका प्यानलिष्टहरुले यस्तो बताएका हुन् । ई–तालिमको तेस्रो वा अन्तिम दिन सञ्चालन भएको 'Transforming e-pedagogy as Inovative & Alternative Pedagogy in Education' विषयका प्यानलिष्टहरुले मप विश्वविद्यालयले ई–तालिमको आयोजना गरेर विश्वविद्यालयलाई प्रविधिसँग जोडेको बताए । उनीहरुले समयको माग र प्रविधिको विकासलाई शैक्षिक गतिविधिसँग जोड्नुपर्ने धारणा राखे । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बिष्णुकुमार खड्काले सञ्चालन गर्नुभएको ई–प्यानल छलफलमा नेपालका शैक्षिक विज्ञहरुको सहभागिता रहेको थियो ।  
ई–प्यानलमा सहभागिता जनाउँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा जयराज अवस्थीले प्रविधिको विकाससँगै अब शिक्षकको भूमिकामा परिवर्तन भएको बताउनुभयो । उहाँले शिक्षक अब सिकाउने तर्फ नभई सहजकर्ताको भूमिका परिवर्तन भएको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षकले अब विश्वविद्यालयले बनाएको कोर्षमा मात्र भर नपरी आफूले सहजीकरण गर्ने कोर्ष आफै बनाउने र आफै लागू गर्ने तर्फ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।    
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक प्राडा चन्द्रप्रसाद रिजालले विश्वविद्यालयलाई प्रदान गरिने बजेट विश्वविद्यालयको आवश्यकतानुसार भएमा यसले शिक्षण सिकाई क्रियाकलापमा छिटो परिवर्तन गर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा रहेको विश्वविद्यालयमा यहाँको भौगोलिक अवस्थानुसार बजेट विभाजन हुन सक्यो भने यसले प्रविधिलाई शिक्षण सिकाइ क्रियाकलापसँग जोडेर लौजान सहज हुने बताउनुभयो । 
काठमाडौं विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनियरिङ्ग विभागका प्राडा मनिश पोखरेलले पाठ्यक्रमलाई पुर्नभिजिट गर्नुपर्ने बताउनुभयो । उहाँले हामीले कसलाई के पढाइरहेका छौं र कसरी पढाइरहेका छौं भन्ने बारेमा शिक्षक जानकार हुनुपर्ने धारणा राख्नुभयो । 
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा बासुदेव काफ्लेले अब शिक्षक बढी समयानुकुल चलायमान हुनुपर्नेमा जोड दिनुभयो । यदि शिक्षक प्रविधिसँग समायोजन हुन सकेन भने उसले आफूलाई परिवर्तन गर्न नसक्ने बताउँदै काफ्लेले शिक्षक र विद्यार्थी दुवैले आफूलाई प्रविधिसँगको डरबाट हटाउनुपर्ने बताउनुभयो ।
यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षा संकाय केन्द्रीय विभागका अनुसन्धानकर्ता शिक्षाविद् सहप्राध्यापक डा प्रेम फ्याक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेशका प्रमुख जितबहादुर शाह र अमेरिक एम्बेसी नेपालका विश्वराज गौतमले पनि प्रविधिसँगै अध्ययन र अध्यापन गर्ने कार्य पनि रुपान्तरण हुँदै अघि बढेको बताएका थिए ।
कार्यक्रमका सहभागी मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायका उपप्राध्यापक बिमल नेपालीले बदलिदो समयमा सञ्चालन भएको ई–सिकाइको व्यवस्थापनले उपप्राध्यापकहरुा नयाँ जोश र जाँगर थपिएको बताउनुभयो । यसैगरी उपप्राध्यापक टेकेन्द्रकुमार महताराले तालिम निकै प्रभावकारी भएको बताउनुभयो । छोटो समयमा भए पनि विश्वविद्यालयले प्रविधिलाई अपनाउने कुरामा अब दुविधा नभएको भन्दै उहाँले यसलाई वैकल्पिक विधिको रुपमा प्रयोगमा गर्नुपर्ने बताउनुभयो ।
तालिममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय क्याम्पस, विभिन्न आंगिक क्याम्पसका गरी करिब १५० जनाको सक्रिय सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top