ट्रेण्डिङ

होमपेज / समाज

ठूल्दाईलाई सम्झिदाँ

त्रिभुवन बिसी २०७७ माघ २४ गते शनिबार १५:५०:२८ मा प्रकाशित

मेरो ठुल्दाजुको सपना साकार पार्ने तपाईको निःस्वार्थ मन छ भने आउनुहोस् दाजुको नाममा परोपकारी काम गरौं । मिलेर अघि बढौं जसले गर्दा दाजुको आत्माले शान्ति पाओस् । 

ठूल्दाई – कहाँ छस् ?
– अफिसमा ।
ठूल्दाई – ज्वालाबाट फोन आको थियो ?
– कहिले ? 
ठूल्दाई – हिजो, आज ?
म – छैन त ।
ठूल्दाई – मलाइ फोन आको थियो, कति पैसा छ त्यहाँ तिर्नुपर्ने ? तेरो र मेरो नाममा दुइवटा खाता छ कि ? हिसाब दुइ ठाउँमा छ कि हेर्नु । 
– हुन्छ म हेरौला । मैले दुईपटक पैसा दिएको छु, अब फेरि पैसा भयो भने दिन्छु ।
ठूल्दाई – ल ल हिसाब दुइ ठाउँमा परेको छ कि एउटैमा छ राम्रोसँग हेर्नु ।
– हुन्छ । 
मेरो ठूल्दाई रामबहादुर बिसी र म बीच विसं. २०७६ माघ २ गते बेलुका करिब ७ बजे आसपासमा भएको अन्तिम संवाद हो यो । यो केवल संवाद मात्र थिएन, यो त ठुल्दाजुले म भाइमाथि गर्नुभएको माया, प्रेम, रेखदेख अनि जिम्मेवारी पनि थियो । मेरो बुवा नरबहादुर बुढा क्षेत्री र आमा जलादेवी बुढा क्षेत्रीको कोखबाट २०३१ साल फागुन १६ गते पहिलो सन्तानको रुपमा जन्म लिनुभएको हो । ठूल्दाईसँग विसं. २०७६ माघ २ गते बेलुका कुरा भयो तर माघ ३ गतेको बिहानीसँगै ठूल्दाईले कहिल्यै कुरा नगर्ने गरी र कहिल्यै माया, प्रेम र आत्मियता नसाट्ने गरी हामी सबैलाई छोडेर यो संसारबाट बिदा लिनुभयो । जुन अकल्पिनीय, असोचनीय तर यथार्थ थियो । 
ठूल्दाईले माघ ३ गते यो भौतिक संसारबाट विदा लिए पनि माघ २२ गते आजको दिन उहाँको तिथि परेको छ । माघ २२ गते उहाँको वार्षिक तिथि पर्नु र मेरो जन्म दिन पनि आजै पर्नु यो संयोग मात्र नभएर दाजु र भाइ बीचको अघोर माया, प्रेम र आत्मियता पनि हो भन्ने मैले बुझेको छु । जो कसैलाई यस्तो संयोग मिलेको हुँदैन । तर यो संयोग मलाई मिलेको छ । यो संयोगसँगै मेरो ठूल्दाईको सम्झनामा मैले कुनै न कुनै काम गर्नुपर्छ भन्ने अठोट पनि लिएको छु । जुन अठोटले ठूल्दाईले देखेको सपना त पूरा हुन नसक्ला तर पनि उहाँले देख्नु भएको समाज सेवा गर्ने सपनालाई केही हदसम्म पूरा गर्नेछ भन्ने अपेक्षा लिएको छु । 
२०७६ माघ ३ गतेलाई सम्झदाँ
हरेक वर्षको माघ ३ गते हाम्रो परिवार र हाम्रा शुभचिन्तकहरुका लागि कालो दिन भएको छ । यो दिन नै हो हाम्रो परिवारको एक कर्मठ, इमान्दार, लगनशील अभिभावक र नेतृत्वकर्ता मेरो ठूल्दाइले यो संसारबाट विदा लिनुभएको दिन हो । कसरी सम्झु म त्यो दिन, जुन दिन र जुन क्षणको कल्पना समेत म गर्न सक्दिन । 
सधै झैं म बिहानै उठेर मप विश्वविद्यालयमा अध्यापन गराउनका लागि गएकोे थिए । क्याम्पसमा पढाएर करिब ९ बजेतिर म घरमा फर्किसकेको थिए । कार्यालय समयमा म कर्णाली प्रदेश प्रमुखज्यूको सचिवालयमा मिडिया हेर्नेगरी जिम्मेवारी पाएकाले खाना खाएर १० बजे कार्यालय पुग्नु मेरो नियमित क्रियाकलाप भित्र पर्दथ्यो । त्यसैले म खाना खाने तयारी गर्दै थिए, यतिकैमा जेठा भिनाजुको फोन आयो । फोनमा कुराकानी भए अनुसार प्रदेश अस्पताल कालागाउँ आउन भन्नुभयो । मैले म खाना खादैछु, खाना खाएर आउछु भने तर किन भनेर कुनै कारण सोधिन । 
घरमा जीवनसँगिनी आरजुलाई हस्पिटल जानुपर्ने भयो रे भने अनि म खाना खाएर हस्पिटल तर्फ लागे । बाटोमा जाँदै गर्दा फेरि भिनाजुको फोन आयो । त्रिभुवन कहाँ पुग्यौं ? मैले भने, म बाटोमा छु । ल ल आउ । मैले फेरि पनि कारण सोधिन । म हस्पिटल पुगे । सबै आआफ्नै कुरा गरिरहेका थिए । म पनि कुरा भएतिर नजिकै पुगे । मलाई कसैले केही पनि भनेनन् । मात्र यति सुने घटना नहुनु पर्ने थियो, घटना घट्यो अब कसरी अगाडि बढ्ने ? तर पनि मैले के घटना भनेर सोधिन । तर मनमा अनेकौ शंका, उपशंका र डर लागिरहेको थियो । आखिर जे नहुनु थियो त्यही भएको रहेछ । भगवानले ठुल्दाजुलाई लगिसकेका रहेछन् । म मन्त्रमुग्ध भएँ । कसैलाई केही भन्ने सोच नै भएन । सबैका कुरा एकछिन सुनिमात्र रहेँ । 
एकछिन पछि हस्पिटलको इमरर्जेन्सी वार्ड तर्फ गएँ । जहाँ मेरो ठूल्दाई चीर निन्द्रामा हुनुहुन्थ्यो । मैले दाजुलाई एकोहोरो हेरिमात्र रहेँ । मनमनै धेरै कुरा गरे दाजुसँग । सधै सन्चो बिसन्चो सोध्ने दाजु एकोहोरो सुनिमात्र रहुन भयो कहिल्यै नबोल्ने गरी । दाजुसँग धेरै कुरा गर्न बाँकी नै थियो जुन कुरा मैले एकोहोरो गरिरहे । दाजुसँग उत्तर र प्रतिक्रिया धेरै पटक मागे तर मैले त्यो उत्तर र प्रतिक्रिया कहिल्यै पाउन सकेन । ठुल्दाजुलाई शिरदेखि पैतलासम्म राम्ररी नियाँले । तर मसँग “हुने हार दैव नटार” भन्ने उक्ति भन्दा केही बाँकी थिएन । मनमनै भगवानलाई निकै सरापे, निकै गालि गरे अनि मनमनै ठुल्दाजुलाई भने सायद हामी भाइबहिनीहरु मध्ये सबैभन्दा पहिले जानको लागि होला तपाईं सबैभन्दा पहिले जन्मिनुभएको । यस्तै यस्तै कुरा मनमा धेरै खेलाए । तर के गर्ने कसो गर्ने मेरो दिमागले केही सोच्न सकिनँ । 
गहँभरी आँशु निकाल्दै हस्पिटलको इमरर्जेन्सी वार्डबाट बाहिर निस्किएँ अनि एउटा कुनामा गएर भक्कानो फुटाएर गहभरी भरिएका आँशुका ढिक्कालाई कुनै रोकावट बिना दाजुसँगको कुराकानी, माया मोह, केअर, जिम्मेवारी सबै कुरा सम्झदैं रोइरहे, केवल रोइरहे । आँखाको डिलमा आएका आँशुलाई राक्नै सकिन । पीडाको त्यो क्षण सबैभन्दा पहिला आँखालाई मात्र थाहा हुँदो रहेछ जहाँ यतिकै पनि आँखाबाट आँशु बगिदिने रहेछ । आँखाबाट यसरी आँशु बाहिर आए कि जुन रोकेर पनि रोक्न सकिने अवस्थामा थिएनन् । मेरो यो वेदना र छटपटाहटलाई देखेर मेरो माहिला बुवाकी छोरी बहिनी अमृता पनि अस्पताल मै पुगिसकेकी रहेछ । ऊ पनि मसँगै आएर रोइ, कराउन थाली । यतिवेला इमर्जेन्सीमा एक खालको सन्नाटा छाइरहेको थियो । यो दृश्य देखेपछि ठुलो भिनाजुले मलाई धेरै सम्झाउनुभयो । अनि अन्य व्यक्तिहरुले पनि मलाई धेरै सम्झाउनुभयो । सम्झाउनेले सम्झाउने र मैले रुने बाहेक त्यहाँ अन्य कुनै उपाय पनि थिएन । त्यतिवेला लाग्थ्यो चारैतिर अन्धकार छाइरहेको छ ।  
अघिल्लो दिन बेलुकादेखि नै आकाश मडारिएको थियो । बादल लागेको थियो । पानी परिरहेको थियो । त्यो मौसमले ३ गते पनि निरन्तरता दिइरह्यो । आकाशलाई बादलले छोपेर कालो भएको थियो । बादल मडारिरहेको थियो । मानौ मौसमले पनि त्यो दिन नरमाइलो मानिरहेको थियो अनि छिन छिनमा रोइरहेको थियो । अनि त्यही दिन मोबाइल र इन्टरनेटले पनि काम गरेको थिएन । जसले गर्दा घटनाको बारेमा सूचना फैलाउन अलि कठिन भइरहेको थियो । लाग्थ्यो मौसम, सञ्चार अनि इन्टरनेटले पनि त्यो दुखद् घटनामा बिलौना गरिरहेका छन् ।
मेरो भाइ बहिनीमा म उमेरले सानो भए पनि पढे लेखेका कारण अलि बढी भरोसा, अलि बढी माया अनि अलि बढी जिम्मेवारी देखिन्थ्यो । एकातिर परिवारमा यति ठुलो बज्रपात कहिल्यै परेको थिएन भने अर्कोतिर परिवारका सबै सदस्यलाई खबर गर्नुपर्ने जिम्मेवारी पनि मलाई नै थियो । यो सबै जिम्मेवारी एकै पटक पूरा गर्नु मेरा लागि पहाड फोर्नु जत्तिकै थियो । मैले “मुटु माथि ढुंगा राखेर” भए पनि यो सबै भूमिका निर्वाह गर्नुको कुनै विकल्प नै थिएन । मैले करिब ६० र ७० को दशकमा लाग्नु भएका बुवा आमालाई घटनाको बारेमा यथार्थ जानकारी नदिएर नै करिब ६० किलोमिटर पश्चिम विद्यापुरबाट वीरेन्द्रनगर बोलाउनु पर्ने थियो । यदि यो खबर म बाहेक अरु कसैले गरेमा वा अरुले बुवा आमालाई फोन गरेर तुरुन्तै सुर्खेत आउनु भन्ने सन्देश गरेको भए बुवा आमामाथि अर्को अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावनालाई मैले राम्ररी बुझेको थिए । तसर्थ पनि यो सबै काम सोच विचार गरेर गर्नुको मसँग अर्को विकल्प थिएन । त्यसैगरी वीरेन्द्रनगर ३, तातापानी घरमा रहनुभएका भाउजु र छोराहरुलाई पनि घटनाको बारेमा जानकारी दिनु अर्को महत्वपूर्ण जिम्मेवारी थियो । यो सबै काम मैले नै गर्नुपर्ने थियो । अरुले गर्दा फेरि अर्को घटना हुने हो कि भन्नेमा म र हाम्रा शुभचिन्तकहरु सचेत र सजग बन्दै थियौं । 
म पत्रकारिता र सञ्चार क्षेत्रसँग जोडिएको हुनाले समन्वय र सञ्चारका लागि अलि सहज रुपमा भूमिका निर्वाह गर्न सक्ने क्षमता म मा अलि बढी नै थियो । म माथि ठुल्दाजुलाई गुमाइसकेको चोट र असह्य पीडा त छदैथियो । त्यसमाथि थप अन्य घटना नहोस् भन्नेमा थप चिन्ता र चासो थियो । 
यति वेलासम्म करिब ११÷१२ बजेको हुनुपर्छ । मैले सबैभन्दा पहिला जीवनसंगिनी आरजुलाई खबर गरेर ममीलाई (सासुआमा) लिएर तुरुन्त हस्पिटल आउन भने । साँच्चै मेरो सासुआमा एउटा जिउँदो भगवान हुनुहुन्छ । मैले उहाँको तारिफ गरेको पटक्कै होइन यो त जीवनमा आइपरेको घटनालाई उहाँले गर्नुभएको सहजीकरण र उहाँमा भएको क्षमताका कारणले यति भनेको हुँ । बाँकी तपाईहरु जजसले उहाँलाई भेट्नु भएको छ तपाईहरुले नै सबै कुरा बुझ्नु भएको होला । उहाँ अलि बढी भगवानप्रति आस्था राख्ने भएकाले होला, जे जस्तो घटना आफ्नो अगाडि आइपर्छ त्यसलाई कमभन्दा कम क्षतिमा कसरी कसरी समाधान गर्ने भन्ने कुराको सामना गर्ने क्षमता उहाँमा अलि बढी छ । सकेसम्म कसैलाई पनि दुःख नदिऊँ भन्ने भावना उहाँको सबैभन्दा बलियो पक्ष हो जस्तो मलाई लाग्छ । मैले उहाँको सहयोग लिनु मेरा लागि सबैभन्दा सहजता थियो । मैले उहाँमार्फत नै यो घटनाको बारेमा भाउजुलाई जानकारी दिनु सबैभन्दा उपयुक्त हुन्छ होला भन्ठानेर यसको जिम्मेवारी मैले मेरो सासुआमालाई दिएँ । किनभने उहाँसँग मानिसलाई समय परिस्थिति अनुसार सम्झाई बुझाई गर्ने क्षमता थियो । यतिवेलासम्म मेरो ठुल्दिदी पनि हस्पिटलमा आइसक्नु भएको थियो । अनि क्रमशः भाउजुका भाइहरु दीपक र घरश्यामलाई पनि यो कुराको खबर भइसकेको थियो । हामीलाई असैह्य पीडा भए पनि, पीडामाथि थप पीडा नहोस् भनेर “मुटुमाथि ढुंगा राखेर” काम गरिरहेका थियौं । 
अब बुवा आमालाई जानकारी दिनुमात्र होइन वीरेन्द्रनगरमा बोलाउनु मेरा लागि “फलामको चिउरा चपाउनु सरह” थियो । एकातिर बुवा आमालाई घटनाका बारेमा तुरुन्तै वास्तविकता थाहा नदिनु अर्कोतिर जसरी पनि वीरेन्द्रनगरमा बोलाउनु । यो कार्यलाई निकै चुनौतिका बाबजुत निर्वाह गर्नुको मसँग अर्को विकल्प थिएन । किनभने म एउटा घटनामाथि अर्को घटना नहोस् भन्नेमा धेरै नै सजग भएर काम गरिरहेको थिए । यही काम अरु कसैले गर्दाखेरी कतै कुरा फुत्किएर बुवा आमाले पहिले नै थाहापाउनु हुन्छ कि भन्ने पीडाले मलाई थप चिन्ता बनाएको थियो । 
बुवा आमालाई वीरेन्द्रनगरमा ल्याउन सहजता पक्कै पनि थिएन । किनभने २०४९÷०५० सालतिर चौकुने गाउँपालिकाको गुटुसम्म पुगेको यातायातको सुविधा, मान्छेको चोला फेरिसक्यो तर त्यो बाटोले अझै स्वरुप परिवर्तन गर्न सकेको छैन । यस्तो वेलामा मैले सुर्खेत पश्चिमका नेता, सांसद, मन्त्री सबैलाई निकै धिक्कारे । करिब २ दशक भन्दा बढी समयसम्म पनि सुर्खेत पश्चिमको बाटोको स्तरोन्नति हुन सकेको छैन । प्रसंग आएको हुनाले सुर्खेत पश्चिमको बाटोको बारेमा थोरै जोडेको मात्र हुँ । 
बुवा आमालाई वीरेन्द्रनगरमा ल्याउनका लागि कि भने उतै भएका कुनै एम्बुलेन्सलाई भन्नुपर्ने थियो कि भने वीरेन्द्रनगरबाट नै गाडी पठाउनुपर्ने थियो । मैले पहिलो विकल्पलाई प्राथमिकता दिएँ । वीरेन्द्रन्ग्रबाट गाडी पठाउँदा करिब साढे दुईदेखि तीन घण्टा लाग्दथ्यो अनि फर्किदा पनि त्यति नै समय गर्दा करिब ६ घण्टामा बुवा आमा वीरेन्द्रनगर आइपुग्नु हुन्थ्यो तर पश्चिमतिर नै एम्बुलेन्स पाइएको खण्डमा करिब ३ घण्टामा बुवा आमा आइपुग्ने भएकाले मैले पहिलो विकल्प अनुसार उतै भएका स्वास्थ्य चौकीका एम्बुलेन्स चालकलाई फोन गरे । सिमसिम पानी पनि परिरहेको थियो । बाटोको समस्या उस्तै थियो । यी चुनौतीलाई सामना गरेर बुवा आमालाई समयमा नै वीरेन्द्रनगर बोलाउनु मेरा लागि थप चुनौती थियो । 
मैले गुटु स्वास्थ्य चौकीको एम्बुलेन्स ड्राइभरलाई फोन गरे । ड्राइभर दाई पनि गुटु कै भएकाले हाम्रो घरपरिवार सबैलाई राम्रोसँग चिन्दथे । उनले गाडी हिलोमा फसेकाले निस्कने सम्भावना नभएको बताए । तर पनि प्रयास जारी भएकाले निस्किहाल्छकि भने । यसले गर्दा मलाई त्यो गाडीको भर पर्नु खासै आवश्यक लागेन । मैले दाइ गाडी हिलोबाट निस्किएमा बुवा आमालाई वीरेन्द्रनगर ल्याउनुपर्छ है भने । अनि अर्को गाडीको जोहो गर्न लागे । अरु गाडीको जोहो गर्दै थिएँ । संयोग नै भन्नुपर्छ एम्बुलेन्सलाई हिलोबाट बाहिर निकालेर ड्राइभर दाइले मलाई फोन गर्नुभयो । मैले उहाँलाई बुवा आमालाई जसरी पनि सुर्खेत लिएर आउनु मात्र भने अरु केही पनि भनेन । अनि मैले बुवा आमासँग कुरा गर्न नपाउँदै एम्बुलेन्स त १० मिनेटमा नै विद्यापुर घरमा पुगिसकेको रहेछ । मैले बुवालाई ठूल्दाई लड्नुभयो अलि अवस्था खतरा छ तुरुन्त वीरेन्द्रनगर आउनुस् भने । मैले आमालाई पनि लिएर आउनुस् भने । तर बुवाले कस्तो छ, कति चोट लागेको छ भनेर सोधि खोजी गर्नुभयो । मैले “मुटुमाथि ढुंगा राखेर” भए पनि चोट अलि बढी छ बेहोसमा हुनुहुन्छ भने । बुवाले त्यसो भए भोलि आउछौं भन्नुभयो । मैले अलि खतरा भएर आजै आउन भनेको हो भने । बुवाले आमा आउछे म भोलि आउछु भन्नुभयो । मैले बरु तपाई आउनुस् आमाले मान्नुभएन भने भोलि आउनुहुन्छ भने । किनभने मैले एकैपटक जबर्जस्ती गर्दा बढी शंका भएर अर्को घटना हुने होकि भन्नेमा म बढी सजग थिए । फेरि फोन गरे आखिर भोलि फेरि गाडिमा गारो हुन्छ एम्बुलेन्समा एकै पटक आए भइहाल्यो नि भनेर बुवालाई सम्झाएँ । उहाँहरु बल्ल बल्ल हिड्न राजी हुनुभयो । यतिवेलासम्म अघि नै एम्वुलेन्स विद्यापुर घरमा आइपुगेको थियो । संयोगवश अछाममा अध्यापन गराउने माहिला दाजु (तीर्थ) पनि विद्यापुर आउनुभएको रहेछ । मैले उहाँलाई फोन गरेर बुवा आमालाई एम्बुलेन्समा जसरी पनि पठाउनुस् र तपाई कसैको बाइक बनाएर आउनुस् भने । उहाँले मैले भनेअनुसार नै गर्नुभयो । बुवा आमाको मन न हो । गाडिमा हिडिसकेपछि बारम्बार के छ, कस्तो छ भनेर सोधिखोजी गरिरहनु भयो । मैले अवस्था अलि गम्भीर भएको कुरा मात्र दर्शाएँ । किनभने मैले त्यो परिवेशमा झुठो बोल्नुको विकल्प पनि थिएन । 
करिब साढे चार पाँच बजेतिर बुवा आमा आइपुग्नुभयो । मैले सहजै बुवा आमालाई हेर्न सकिन । बुवा आमाले वास्तविकता थाहा पाउनुभयो भने के होला भन्ने मात्र सोचिरहे । अनि मैले अरु कसैलाई भनेर बुवा आमालाई अब हस्पिटलमा होइन तातापानी घरमा लैजान भने । सोही अनुसार बुवा आमालाई घरमा लग्ने काम भयो । यति वेलासम्म देश, विदेशमा रहनुभएका आफन्त र शुचिन्तकहरुको फोन आउने र खबर बुझ्ने क्रम चलिरहेको थियो । दुई, जना चार जना गरेर सयौं मानिसहरु प्रदेश अस्पताल आउने क्रम पनि चलिरहेको थियो ।
काठमाडौंमा रहनुभएका कान्छा अंकल (विक्रम बि.सी), भाई भीम बि.सी., भतिजाहरु सन्देश र सुशील बि.सी.पनि सुर्खेत आउने तयारी गरेको थाहा पाएँ । अछाम तुर्माखाँद गाउँपालिकामा रहनुभएका हाम्रा परिवार, आफन्तजनहरु वडा नम्बर तीनका वडा अध्यक्ष दाजु पदम बि.सी. माहिला बुवा  भजन बि.सी, साहिला बुवा चन्द्र बि.सी. भिनाजु डबलसिंह थापालगायत अन्य थुप्रै मानिसहरु पनि आउदै गरेको जानकारी पाएँ ।  
सबै घटनाक्रम जे जस्तो अवस्थामा थियो त्यसलाई त्यही अवस्थामा बुझ्नु र सहनुको हामीसँग अर्को विकल्प थिएन । प्राय सबै जसो मानिस वीरेन्द्रनगरमा आइसकेपछि बाँकी काम अब विद्यापुर घरमा गएर गर्ने कि यतै वीरेन्द्रनगरको घरमा गर्ने भन्नेबारे सल्लाह भयो । सबैसँगको सल्लाह अनुसार सबै काम वीरेन्द्रनगरको घरमा नै गर्ने निष्कर्ष निस्कियो ।
सोही सल्लाह बमोजिम भोलिपल्ट माघ ४ गते सबै प्रक्रिया पूरा गरेर ठुल्दाजुलाई अन्तिम श्रद्धाञ्जली दिँदै हिन्दूधर्मालम्बीका अनुसार सबै काजक्रिया पूरा गर्ने काम भयो ।  
मान्छे किन यति धेरै स्वार्थी, किन यति धेरै रिस अनि किन यति धेरै निर्दयी बनिरहेको छ । आखिर एक दिन त हामी सबैले यो धर्ती छोड्न नै पर्ने हो । यो कुरालाई बुझेर पनि किन बुझ पचाइरहेको छ । किन मानिस धर्तिमा नहुँदा पनि उसैको नाममा मोलमोलाई गरिरहेको छ । उसैको नाममा यति धेरै स्वार्थी बनिरहेको छ । कसले कसरी कतिवेला धर्ती छोड्छ त्यो कसैलाई थाहा नै छैन । जो जसले जसरी यो भौतिक संसारबाट बिदा लिन्छ त्यो त एउटा कारण मात्र रहेछ । कोही हजाइजवाज दुर्घटना भएर मृत्युवरण गर्छन् कोही हवाइजहाज दुर्घटना भएर पनि बाँच्छन् । कोही घरको आँगनमा लडेर मृत्युवरण गर्छन् कोही गाडी दुर्घटना भएर मृत्यु वरण गर्छन् । मृत्यु वरण गर्दा हुने दुर्घटना त मात्र एउटा कारण मात्र रहेछ । नत्र भने समय पुगेको छ भने जो जतिवेला पनि यो धर्तीबाट मृत्युवरण गर्न सक्ने रहेछ । के बालक, के युवा, के वृद्धवृद्धा । सबैलाई यो धर्तीबाट टाढा जानका लागि केही न केही निहुँमात्र चाहिएको छ । केही न केही बहाना मात्र चाहिएको छ । 
म मेरो ठुल्दाजुको सम्झनामा केही न केही राम्रो काम गरौ भन्ने अठोटका साथ लागेको छु । तर केही मानिसहरु अहिले पनि स्वर्गमा जानुभएको ठुल्दाजुको निर्जिव शरीरमाथि मोलमोलाई गरिरहेको सुनिरहेको छु । के यस्तो गतिविधिले मेरो ठुल्दाजुको आत्माले शान्ति पाइरहेको होला ? के दाजुको आत्माले यही गर्न भनिरहेको होला ? के ठुल्दाजुको आत्माले आफू स्वर्गमा गए पछि बाँकी रहेका सबै परिवारबीचको आत्मिय सम्बन्ध तहसनहस होस् भन्ने चाहनुभएको छ होला ? जानेर हो या नजानेर हो, आफै हो यो अरुको उक्साहटमा हो । हाम्रो परिवारमाथि कसले किन यसरी हस्तक्षेप गरिरहेको छ ? ज जसले जे जे स्वार्थका लागि जे जे काम गरिरहेको छ तपाईहरुलाई मेरो ठुल्दाजुको आत्माले कदापी शान्ति दिने छैन । तपाइलाई जिउदै भत्भति पोल्नेछ । म त बस यति भन्छु मेरो ठुल्दाजुको भौतिक शरीरले यस्तो कदापी चाहनुभएको छैन । यस्तो कार्य गरेकोमा तपाईहरुलाई ठूलो पश्चाताप शिवाय अरु केही हुने छैन । बरु मेरो ठुल्दाजुको सपना साकार पार्ने तपाईको निःस्वार्थ मन छ भने आउनुहोस् दाजुको नाममा परोपकारी काम गरौं । मिलेर अघि बढौं जसले गर्दा दाजुको आत्माले शान्ति पाओस् । 
ठुल्दाजुको सपनालाई साकार पार्ने अभियानमा परोपकारी काम गर्नका लागि परिवारजन, आफन्तजन, इष्टमित्र, शुभचिन्तक सबैमा सकारात्मक सोच पलाओस् । यस प्रथम वार्षिकोत्सवका अवसरमा ठुुल्दाजुको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली ठुल्दाजु ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top