होमपेज / राजनीति
सुर्खेत । काेभिडका बिरामीहरुले कर्णाली प्रदेशका प्रत्येक जिल्लाकाे अवस्था कठिन भइरहेकाे समयमा प्रदेश सरकार यसकाे राेकथामका उपायमा गम्भीर भएर लाग्न नसकेकाे नेताहरुले आराेप लगाएका छन् । नेकपा एमाले संसदलीय दलका नेता यामलाल कंडेल र नेकपा एमाले कर्णााली प्रदेश कमिटीका अध्यक्ष गाेरखबहादुर बाेगटीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर काेराेना राेकथामका लागि सरकारले चालेकाे कदमकाे आलाेचना गरेका हुन् ।
आफूसँग भएकाे स्राेतकाे उचित परिचालन नहुँदा र संघीय सरकारलगायत अन्यसँग प्रभावकारी समन्वय गर्न नसक्दा कर्णाली प्रदेशमा काेराेनाका बिरामीकाे भयावह स्थिति उत्पन्न भएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यसैगरी नेताहरुले कर्णाली प्रदेश सरकार काेभिडका बिरामीकाे उपचारमा भन्दा पनि आफ्नाे स्वार्थ सिद्धिमा लागेको आरोप लगाएका छन् ।
काेभिड १९ काे महामारी राेकथाम र नियन्त्रणका लागि चाहिने अतिआवश्यक अभावले नागरिकले ब्यहाेर्नुपरेकाे कष्टकर दैनिकी र मानवीय क्षतीप्रति गहिराे दु:ख प्रकट गर्दै विज्ञप्तिमा संघीय तथा प्रदेश सरकारकाे ध्यानाकर्षण गरिएकाे छ । प्रदेश अस्पताल कालागाउँले अक्सिजन नभएको भन्दै कोभिड बिरामी भर्ना नलिने भनेर निकालेको विज्ञप्तितर्फ इंगित गर्दै नेताहरुले प्रदेश सरकार मन्त्रालय फुटाएर आफ्ना सांसद तथा कार्यकर्ताकाे स्वार्थ पूरा गर्न केन्द्रित भएको आरोप लगाएका हुन् ।
कर्णाली प्रदेशका कतिपय दुर्गम जिल्लाहरूका सदरमुकाममासमेत अक्सिजनको व्यवस्था हुन सकिरहेको छैन । ‘जिल्ला अस्पतालहरूमा भएका कतिपय उपकरणहरुको प्रयोग प्राविधिक जनशक्तिको अभावमा थन्किरहेका छन् ।’ विज्ञप्तीमा भनिएकाे छ, ‘यो संवेदनशील घडीमा कर्णाली प्रदेश सरकारको मातहतमा अर्थात उसको ढोका अगाडि रहेको प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालले अक्सिजनको अभावले कोभिड–१९ का बिरामीलाई भर्ना गर्न नसक्ने भनि सूचना टाँस गरेको विषय सार्वजनिक भइसकेको छ ।’
महामारीले कर्णाली प्रदेशमा भयावह रुप लिइरेको बेलामा यसको रोकथाम, नियन्त्रण, उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि विज्ञप्तिमा कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण समेत गरिएकाे छ ।