ट्रेण्डिङ

होमपेज / राजनीति

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन माग

नेपालगाथा २०८३ जेठ ७ गते बिहीबार १९:३८:०९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ ।

आज(बिहीबार) राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न समेत माग गरेको छ । 

महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रस्तावलाई तत्काल कार्यान्वयन गर्न माग गरे । आफूहरुले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै उनले भने, ‘खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्ने लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

खानेपानीमा कर तथा भ्याट छुट, विद्युत महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउनुपर्ने, आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्नुपर्ने तथा नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने मागसहित राष्ट्रियसभाबाट २०८२ असार १२ गते संकल्प प्रस्ताव पारित गराएको ओलीले बताए । ‘यस क्षेत्रको सुधारको लागि राम्रो संकेत देखिँदै गर्दा राजनीतिक परिवर्तन, निर्वाचन तथा नयाँ सरकार गठनका कारण कार्यान्वयनमा ढिलाइ भए पनि वर्तमान सरकारले त्यसको कायान्वयन गर्नेमा हामी आशावादी छौँ,’ ओलीले थपे ।

आफूहरुले उठाएका मागहरुप्रति सरकार सकारात्मक हुँदै कार्यान्वयनको दिशातिर नगए संघर्ष गर्ने चेतावनी दिए । ‘हामीले उठाएका मागहरु पूरा नगरे ३ लाख कर्मचारीको रोजगारीको जिम्मा स्वयम सरकारलाई लगाउन बाध्य हुनेछौँ,’ उनले भने । वर्तमान सरकारले खानेपानी क्षेत्रको संवेदनशीलतालाई ध्यान नदिएर भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर अपरिपक्व निर्णय गरेको समेत आरोप ओलीको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्यायले महासंघको भोलि अर्थात जेठ ८ गते राजधानी काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा ७ औं साधारण सभाको आयोजना गर्न लागेको र साधारसभाबाट शहरी खानेपानी तथा सरसफाइको विषयमा महत्वपूर्ण निर्णय गर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top