ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका सम्भावनालाई कूटनीतिक नियोगमार्फत अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ - मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८२ चैत्र २५ गते बुधबार १०:२९:१३ मा प्रकाशित

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहुआयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालय नेपाल को आर्थिक कूटनीति महाशाखाले सुर्खेतमा आयोजना गरेको ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन’ सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय र सहकार्य आवश्यक रहेको  बताए ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त प्रदेश भए पनि आवश्यक प्रचार–प्रसार र पहुँचको अभावका कारण पछि परेको उल्लेख गरे । उनले विदेशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई कर्णालीको पहिचान र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष पहल गर्न आग्रह गरे ।

“हाम्रा दूतावासहरूले कर्णालीका पर्यटकीय गन्तव्य, कृषि उत्पादन, जडीबुटी तथा सम्भावित लगानीका क्षेत्रबारे विश्वलाई जानकारी गराउन सक्नुपर्छ,” उनले भने, “यसले निर्यात वृद्धि, विदेशी लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन सक्छ ।” उनले कर्णालीमा जलस्रोत, कृषि, जडीबुटी, पर्यटन तथा खनिज क्षेत्रहरूमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए । साथै, निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले विगतमा केन्द्र सरकारले कर्णालीप्रति विभेद गरेको बताए । उनले सोही कारण प्रदेश विकासमा पछि परेको दाबी गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । “विगतमा हामीले धेरै कुरा मात्र गर्यौं, अब परिणाम दिने काम गर्नुपर्छ,” उनले जोड दिए । कार्यक्रममा आर्थिक कूटनीतिमार्फत निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा पर्यटन विकासका उपायबारे विभिन्न सरोकारवालाबीच छलफल गरिएको थियो ।

सहभागीहरूले कर्णालीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ब्रान्डिङ, गुणस्तर सुधार र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसार, हवाई तथा स्थल पहुँच विस्तार, तथा स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरी निर्यातयोग्य बनाउने विषयमा पनि जोड दिइएको थियो । 

कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, उद्योगी–व्यवसायीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top