होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न आज(बुधबार) पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ ।
आज अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
आज रास्वपा केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकले वरिष्ठ नेता शाहलाई दलको नेता चयन गर्न विधानमा भएको बाधा अड्काउ (धारा ८०) फुकाउने बताएको छ ।
रास्वपाको स्थापनापछि विधान महाधिवेशन भइनसकेकाले मौजुदा विधानमा भएका बाधाअड्काउ फुकाउने अधिकार केन्द्रीय समितिमा रहेको छ । विधान परिमार्जनपछि दलको बैठक बसेर वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी रहेकाे छ ।
प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथग्रहणसँगै संसदीय दलको नेता चयन हुने छ दलको ने ता चयनपछि पर्सी चैत १३ गते शाहले प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने तयारी छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् गठन गर्नेबारे सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्लेबिच निरन्तर छलफल र परामर्श भइरहेको छ ।
रास्वापाबाट सरकारमा सहभागी हुने व्यक्तिहरूको सार्वजनिक चर्चा सुरु भए पनि बिहीबार मात्र नाम टुङ्गो लाग्ने बताइएको छ । बुधबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले सांसद पदको शपथ लिने र बिहीबार नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तालिका तय भइसकेको छ ।
भावी प्रधामनन्त्रीका रूपमा शाहको शपथ नेपालको संविधानको धारा ७६ को १ अनुसार शुक्रबार राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा गराउने गरी तयारी भइरहेको छ ।
शाह प्रधानमन्त्री नियुक्त भएसँगै केही मन्त्रीको नियुक्ति हुने वा सबै मन्त्रीको शपथ एकसाथ गर्ने भन्नेबारे छलफल भइरहेको छ । मन्त्री चयन गर्दा विषय विज्ञताका आधारमा छनोट गर्ने र प्रतिनिधि सभाका सभामुख, प्रमुख सचेतकलगायत चयनबारे पनि छलफल भइरहेको बताइएको छ ।