होमपेज / राजनीति
काठमाडौं । संघीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन गर्ने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।
दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्ट्याइएको छ । अधिकांश स्थानमा रङरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ ।
यसअघिका कार्पेट, पर्दा र अधिकांश फर्निचर पुनः प्रयोग गरिएको छ । थोरै नयाँ थपिएको छ । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका निम्ति गरेको आग्रहअनुसार कार्य गरिएको कर्मचारी बताउँछन् ।
बैठक हलसँगै पदाधिकारीका निम्ति थप पाँच कक्ष समेत तयार पारिएको छ । रास्वपाले यसअघि प्रयोग गर्दै आएको भवनमा भने अरू दलको कार्यालय व्यवस्थापन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ । ती कक्षमा रङरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी रहेकाे छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद संख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, यो व्यवस्थापन अल्पकालीन भए पनि बैठक सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन् । रासस