ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा सदस्य निर्वाचन - आज देशभर मतदान हुँदै

नेपालगाथा २०८२ फाल्गुण २१ गते बिहीबार १०:३५:०७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज(बिहीबार) मतदान हुँदैछ । आज बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर मतदान हुन लागेको हो । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुन बिहीबारका दिन प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेका थिए । सोही अनुसार आज मतदान हुन लागेको हो ।

निर्वाचन आयोगले आज हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकले नीति, नेतृत्व, शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन् । “निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो ।

लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिकरकानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो ।” उनले भने । आयोगले मतदानपछि मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिनेगरी गणना गराउन प्रबन्ध गरेको बताएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने बताइएको छ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top