होमपेज / राजनीति
काठमाडौँ । संविधानसभाका सदस्य तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकार प्राप्तिका अग्रणी अभियन्ता सुनिल बाबु पन्तले समावेशी समाजवादी पार्टीलाई गोप्य मतदानमार्फत समर्थन गर्न अपिल गरेका छन् । उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका समुदाय र मनोरञ्जन क्षेत्रमा काम गर्ने व्यक्तिहरू लामो समयदेखि राज्य, समाज र संसदबाट उपेक्षित रहँदै आएको उल्लेख गरेका छन् ।
पन्तका अनुसार यी समुदायलाई समाजले देख्न चाहेन, राज्यले सुन्न चाहेन र संसदले उनीहरूको आवाज समेट्न सकेन । पन्त स्वयं २०६४ सालको पहिलो संविधानसभामा पुगेपछि हालसम्म समुदायबाट कोही पनि संसदमा पुग्न नसक्नु गम्भीर अन्याय भएको उनको ठहर छ । उनले यो अवस्थालाई केवल प्रतिनिधित्वको अभाव मात्र नभई जीवन, अधिकार, अस्तित्व र भविष्यसँग प्रत्यक्ष जोडिएको सवालका रूपमा चित्रित गरेका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, आरक्षण, विवाह, पैतृक सम्पत्ति, पहिचान र सुरक्षाको अधिकारजस्ता विषय अन्य सांसदहरूले कहिलेकाहीँ उठाए पनि, आफ्नै समुदाय संसदमा नपुगेसम्म ती मुद्दा अधुरा नै रहने पन्तको भनाइ रहेकाे छ । उनका अनुसार आफूहरू नभई आफ्नो कथा पूर्ण हुन सक्दैन ।
पन्तले अझै पनि धेरै समलिङ्गी, तेस्रोलिंगी तथा अन्तरलिंगी व्यक्तिहरू खुलेर आफ्नो पहिचान सार्वजनिक गर्न नसकेको अवस्था रहेको उल्लेख गरे । परिवार, समाज र परम्पराको दबाबले धेरैलाई विपरीत लिङ्गसँग विवाह गरेर बस्न बाध्य बनाइएको उनको भनाइ रहेकाे छ । सबैले खुल्नैपर्छ भन्ने बाध्यता नरहेको भए पनि, मतदान भने गोप्य हुने भएकाले यही गोप्य मतमार्फत आफ्नो समुदायको पक्षमा इतिहास बनाउन सकिने उनले बताए ।
उनले समावेशी समाजवादी पार्टीलाई आफ्नै पीडा, सङ्घर्ष, सपना र सम्मानको राजनीति संसदसम्म पुर्याउने माध्यमका रूपमा व्याख्या गरेका छन् । यही कारण यसपटक समानुपातिकतर्फ “श्रीवत्स चिन्ह” मा भोट हाल्न उनले आग्रह गरे । पन्तले मतदातालाई आफ्ना आमा–बुबा, साथीहरू, दिदीबहिनी, दाजुभाइ र आफन्तहरूलाई पनि समावेशी समाजवादी पार्टीलाई भोट हाल्न आग्रह गर्न अपिल गरेका छन् । उनका अनुसार आफूहरूलाई भोट हाल्नु भनेको आफूहरूलाई नै सम्मान दिनु हो ।
उनले यस निर्वाचनलाई केवल चुनावको रूपमा होइन, पहिचानको जनगणना, अस्तित्वको घोषणा र एकताको ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरे । सबै जात, जाति, भाषा, धर्म, लिङ्ग र क्षेत्रका सबै तहमा उपस्थिति हुँदाहुँदै पनि आफूहरू सीमान्तकृत अवस्थामा रहेको भन्दै, अहिले गोप्य मतदानमार्फत एकजुट भएर आफ्नो समुदायका लागि योगदान दिने अवसर आएको उनको भनाइ रहेकाे छ ।
एक पटक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सके विभेद हटाउन, कानुन संशोधन गर्न, आर्थिक अवसर सिर्जना गर्न र सम्मान, सुरक्षा तथा समृद्ध भविष्य सुनिश्चित गर्न सकिने पन्तको विश्वास रहेका छ । उनले यस क्षणलाई ऐतिहासिक भन्दै, एक पटक आफ्ना लागि भोट दिन, आफ्ना लागि आवाज बन्न र आफ्ना लागि इतिहास लेख्न सबैलाई आग्रह गरेका छन् ।
समानुपातिकतर्फ समावेशी समाजवादी पार्टी, “श्रीवत्स चिन्ह” मा भोट हाल्न उनको आव्हान छ। “हामी एक हौँ। हामी शक्तिशाली बनौँ,” पन्तले सन्देश दिएका छन् ।