होमपेज / राजनीति
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब ३६ करोड २९ लाख रुपैयाँ मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताएका छन् ।
गत आवको छ महिनामा भने ३० करोड २६ लाख रुपैयाँ मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा ९३ करोड रुपैयाँ मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ ।
गत आवको छ महिनामा भने एक अर्ब १७ करोड रुपैयाँ मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट तीन अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।