ट्रेण्डिङ

होमपेज / राजनीति

जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकलाई आवतजावत खुल्यो

नेपालगाथा २०८२ माघ १७ गते शनिबार १८:४९:३४ मा प्रकाशित

नेपालगञ्ज। जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले बताएको छ ।

अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिइन् । करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उनको भनाइ रहेकाे छ ।

“जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ”, उनले भनिन् । नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताइन् । उनले भनिन्, “यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।”

वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्नसक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गरिन् । भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताए ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने बताए ।

उनले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताए । कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन बन्द गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top