होमपेज / राजनीति
सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज(आईतबार) भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो ।
गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी नेकपाका बुद्धिप्रसाद शर्माले एक हजार छ सय ३९ मतभार ल्याएका छन् । त्यस्तै नेकपा एमालेका मीनासिंह रखालले तीन हजार एक सय ४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले एक हजार सात सय ३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
आज भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले मतदान बहिस्कार गरेकी थिइन् ।