होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने रुघ्न आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोडन भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन ।
भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको प्रक्रिया मिलाएर ठेक्का तोडन निर्देशन दिएका हुन । मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्टयाउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने बताएका छन् ।
उनले भने, ‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाडछ भने त्यस्ता निर्माण व्यवसायीप्रति हामी कुनै लचिलो हुनुपर्ने जरुरी छैन ।’ मुख्यमन्त्री कँडेलले सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सपन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रुपमा ठेक्का अन्त्य गर्न मन्त्रालयलाई निर्देशन दिए ।
मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्र्तगतका सडक निर्माणमा लापरवाही गर्दा पूर्वमन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै ठेक्का तोडदा तोडिएका ती आयोजनाहरुलाई पुनः संचालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिएका छन् ।उनले भने, समयमा काम सम्पन्न नगरेपछि हामी बाहलवाला सांसद र मन्त्रीसमेत संग्लन भएको ठेक्का तोडेका छौँ, पावरबाट नडराउनुहोस, सरकार त्यसको जिम्मा लिन्छ। मुख्यमन्त्री कँडेलले काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाई नगर्न पनि मन्त्रालयलाई निर्देशन दिए । उनले भने, निर्माण व्यवसायीले काम गरेको छ भने बाहाना नबनाउनुस, बोलाएर भएपनि भुक्तानी दिनुस् ।
समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्ने बताए । नागरिकको अपेक्षा र राज्य सयन्त्रका कार्यशैलीबीच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको धारणा थियो । मुख्यममन्त्री कँडेलले नागरिकले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए । उनले भने, हाम्रा र तपाईका आफना कुरा होलान तर अव पनि पुरानै मानसिकताले काम गर्नु भयो भने रिजल्ट सम्भव छैन ।
बजेट र कार्यक्रम बनाउँदा राजनीतिक नेतृत्वको भूमिका रहने भएपनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मतन्त्रको हुने भएकोले कर्मचारीले कार्यकारी भूमिकामा रहेर काम गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाई रहेकाे थियो । उनले नेता रिसाइहाल्छन कि भनेर नहुने काम बोकेर नहिडन पनि कर्मचारीहरुलाई निर्देशन दिए । उनले भने, हुने र नियमसँगत काम रोक्न पाउनुहुन्न तर नहुने काममा नेताको मन राख्नेतिर नलाग्नुस ।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला ३ वर्ष भन्दा अघिका केही आयोजनाहरु रुघ्न रहेकोले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताए । उनले चालु आवमा करिव ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षिय आयोजना स्वीकृतीको चरणमा रहेको माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताए ।