होमपेज / राजनीति
सुर्खेत । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेकपा एमालेको पक्षमा मतदान गराउन नेता तथा कार्यकर्तालाई वडा–केन्द्रित भएर सक्रिय हुन निर्देशन दिएका छन् ।
आज नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव कँडेलले संसद पुर्नस्थापनासंगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकोले अव वडा केन्द्रित भएर लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन । भदौ २३ र २४ पछि मुलुकको अवस्थ सामान्य नरहेको उल्लेख गर्दे। उनले भने, “देशलाई अस्थिर बनाउने र अपराधी प्रवृत्तिलाई एकै ठाउँमा राख्ने प्रयास भइरहेको छ ।
यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै भन्ने विषयलाई हामीले जनता माझ बुझाउन सक्नु पर्दछ।” पार्टीले समानुपातिक तर्फको सूची बुझाइसकेको भन्दै उनले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पारे । उनले काठमाडौंमा अनावश्यक रूपमा धाउने प्रवृत्ति त्याग्न आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने बाहेक अरु नजान निर्देशन दिए ।
साथै कर्णालीका नेताहरूले टिकटका लागि केन्द्रीय नेताको घर–घरमा धाउने काम नगर्न समेत आग्रह गरे । लोकतान्त्रिक शक्तिहरू कमजोर भए देशको परिस्थिति अझ जटिल बन्ने चेतावनी दिँदै मुख्यमन्त्री कँडेलले वडालाई केन्द्र बनाएर निर्वाचन कार्यतालिका वनाउन र भूगोल केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे । “जिल्लाको अवस्था कस्तो बनाउने भन्ने कुरा
केन्द्रदेखि जिल्ला तहका नेताहरूको क्षमतामा भर पर्छ,” उनले भने, “निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्ने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्छ।” देशको स्वाभिमान जोगाउन लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।