ट्रेण्डिङ

होमपेज / राजनीति

योजना अधुरो छाडने प्रवृति निरूत्साहन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन 

नेपालगाथा २०८२ पौष १५ गते मंगलबार १८:३९:५२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजनाहरू अधुरो रहने गरी बजेट छुटटाउने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन ।

विगतमा एक वर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै अब त्यसको अन्त्य गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई आज(मंगलबार) सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजनाको छनोटदेखि कार्यान्वयनसम्म गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको उल्लेख गरे ।

उनले स्रोत सुनिश्चितता भइसकेका तथा बहुवर्षीय आयोजनाबाहेकका योजनाहरूमा विनियोजन गरिएको बजेटले नै सबै काम एकै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट पारे । मुख्यमन्त्री कँडेलले आगामी वर्ष थप बजेट आवश्यक पर्ने गरी आधा–अधुरो काम गर्ने प्रवृत्तिले न त विकास देखिएको छ, न त नागरिकमा सकारात्मक सन्देश गएको छ। “बजेट खर्च भएको देखिए पनि परिणाम नदेखिने अवस्था सिर्जना भएको छ,” उनले भने, “यस वर्षदेखि कुनै पनि योजना अधुरो राख्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्छ । ”

उनले विकास आयोजनाहरू प्रभावकारी बनाउन यथार्थपरक योजना निर्माण, स्पष्ट प्राथमिकता निर्धारण र समयमै कार्यान्वयन अपरिहार्य रहेको बताए । योजना बनाउँदा स्थानीय आवश्यकता, कार्यान्वयन क्षमता र बजेटको आकारलाई ध्यानमा राख्नुपर्नेमा उनले जोड दिए। काम सुरु गरेपछि समयमै सम्पन्न हुने गरी अनुगमन र मूल्यांकन प्रणालीलाई समेत थप प्रभावकारी बनाइनुपर्ने उनको भनाइ थियो ।

बैठकमा सहभागी मन्त्री तथा सचिवहरूलाई मुख्यमन्त्री कँडेलले आ–आफ्नो मन्त्रालय अन्तर्गतका योजनाहरूको प्रगति नियमित रूपमा समीक्षा गर्न निर्देशन दिए। विकास निर्माणका काममा ढिलासुस्ती, समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्ति अब स्वीकार्य नहुने भन्दै उनले कार्यसम्पादनमा स्पष्ट जवाफदेहिता आवश्यक रहेको बताए। बैठकमा मन्त्रालयले आयोजना सञ्चालनमा भोगेको समस्याका बारेमा छलफल समाधान गर्ने विषय निर्णय ।

संघिय सरकारसँग सम्बन्धित बिषय समाधानका अनुरोध गर्ने निर्णय भएको थियोे । त्यस्तै, बैठकमा प्रदेश सरकारका सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूको उपस्थिति रहेको थियो। बैठक कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७५ को दफा ३ को उपदफा (१) बमोजिम बसेको हो। बैठकमा चालु आर्थिक वर्षका विकास योजनाहरूको प्रगति, समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

मुख्यमन्त्री कँडेलले प्रदेशको सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै परिणाममुखी विकास गर्नुपर्ने उल्लेख गर्दै योजना अधुरो राख्ने संस्कृतिको अन्त्य नै कर्णालीको विकासका लागि अनिवार्य शर्त भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top