होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चुनावको अनुकूल वातावरण नबनाएको आरोप लगाएका छन् । उनका अनुसार राजनीतिक गतिविधि नियन्त्रण गर्ने कदमले निष्पक्ष निर्वाचनको आधार नै कमजोर बनेको छ ।
एमालेको ११औँ महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै ओलीले नेताहरूको राहदानी रोक्का, स्थानहद र निषेधाज्ञा जस्ता निर्णयप्रति असन्तुष्टि जनाए। उनले यस्ता अवस्थालाई चुनावी तयारीको संकेत भन्न नमिल्ने टिप्पणी गरेका छन् ।
सरकारले दलहरूको विश्वास जित्न असफल भएको भन्दै ओलीले आन्दोलनका क्रममा हराएका हतियार फिर्ता नभएको र फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएको पनि उल्लेख गरे । यस्तो अवस्थामा निर्वाचन स्वतन्त्र र प्रतिस्पर्धात्मक हुन नसक्ने उनको भनाइ रहेकाे छ ।
ओलीले मताधिकार सुरक्षित र निष्पक्ष प्रतिस्पर्धाको ग्यारेन्टी भए एमाले चुनावमा जान तयार रहेको स्पष्ट गर्दै हालको परिस्थिति चुनावका लागि उपयुक्त नभएको बताए ।