होमपेज / राजनीति
जनकपुरधाम । मुख्यमन्त्री जितेन्द्र सोनलले आज(शनिबार) प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। सोनल सरकारलाई नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएका छन्।
मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गथ असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
सरकारमा दाबी गर्ने समयमा ५ दल रहेपनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ । दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यक छ ।
सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने विपक्षमा रहेका छन् ।