ट्रेण्डिङ

होमपेज / राजनीति

संविधान दिवसमा मुख्यमन्त्री यामलाल कँडेलको शुभकामना सन्देश

नेपालगाथा २०८२ आश्विन ३ गते शुक्रबार ११:००:४२ मा प्रकाशित

सुर्खेत । नेपाली जनताको सात दशक भन्दा लामो संघर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न आजको दिन संविधान दिवसलाई हामीले राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका छौँ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु। विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको अगुवाइ गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै सबै वर्ग,क्षेत्र र समुदायको योगदानको उच्च प्रशंसा गर्दछु।

साथै हालै जेन—जी पुस्ताको प्रर्दशनपछि भएका घटनामा ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे घाइतेहरूको  शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।पीडामा रहनु भएका परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु ।  संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो। यसमा लिपिवद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको संवोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा एकाएक मुलुकले फरक मोड लिन पुग्यो।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरू लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थिति पछि यतिबेला हामी सबै सामु गम्भीर चुनौती उत्पन्न भएको छ। संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दशकौं पछाडि धकेल्ने प्रयत्न भएको छ। 


नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व हो।आम नागरिक र खास गरि युवा पुस्ताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरू पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्थया मान्नु हुँदैन। यस्ता कमी कमजोरीहरूलाई सच्याउँदै आ–आफ्नो ठाउँबाट सुधारसहित आम नागरिकमा भरोसा बढाउँदै जानुपर्ने वास्तविक यथार्थतालाई हामी सबैले स्वीकार्नै पर्दछ तर, परिर्वतन र शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड तथा विध्वंसात्मक तथा विनाशकारी घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ।

लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना समेत गर्न नसकिने त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने अवस्था सृजना भएको छ।यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्रका पक्षधर सबैलाई म हार्दिक अनुरोध गर्दछु।  संविधान निर्माणसंगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार थियो।

 अहिले जेन्जी पुस्ताले उठाएका मागहरू यसै संविधानमै रहेर पुरा गर्न सकिने प्रशस्त आधारहरु थिए, छन्। नेपाली जनताको लामो संर्घषको परिणाम स्वरुप बनेको संविधानलाई संशोधन गरेर थप परिस्कृत गराउन सकिने पर्याप्त आधारहरु छन्।  आफ्ना मागहरुलाई संवैधानिक बाटोबाट शान्तिपूर्ण तरिकाले पुरा गर्न सकिने अधिकार संविधानमै निहित छ। पछिल्लो पटक भएका हिंसात्मक आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने भन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भूमरीतर्फ लैजाने स्पष्ट संकेत देखिएको छ। 


हामीले प्राप्त गरेका संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्वपूर्ण उपलब्धीमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंबैधानिक एवम् अराजक गतिविधिले हामी सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ। राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यतिबेला समयले हामी सबैबाट सुदृढ र रचनात्मक भूमिकाको माग गरिरहेको छ।

पछिल्ला घटनाक्रमहरुले अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो। यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवा पुस्तालगायत सबैमा धैर्य रही प्राप्त उपलब्धीको रक्षा गर्दे संबैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकताबद्ध हुन म अपिल गर्दछु।


 प्रदेश संरचना नै संघीयताको खास पहिचान हो तर प्रदेश संरचनाप्रति उठेका टिका–टिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनु अहिलेको आवश्यकता पनि हो। मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ। हाम्रो संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसात गरेको छ। संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत नागरिकका अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न हामी सबैलाई प्रेरणा मिल्ने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।

संविधानको सफल कार्यान्वयनमार्फत अहिले देखिएको अन्यौलता र अस्थिरतालाई संवोधन गर्दे राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु । 

 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top