होमपेज / राजनीति
काठमाडौँ । सरकार र दुग्ध किसानबीच आज (मंगलबार) वार्ता हुँदैछ । केहीबेरपछि सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारीसँग वार्ता तय भएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले बताए । दूधको बाँकी बक्यौता भुक्तानीको मागसहित किसान आइतबारदेखि सडकमा आएका छन् । आचार्यका अनुसार दुग्ध विकास संस्थानबाट एक अर्ब र निजी डेरीहरूबाट साढे दुई अर्ब गरी साढे तीन अर्ब भुक्तानी लिन बाँकी रहेकाे छ ।
तीन महिनादेखि भुक्तानी नपाउँदा पनि उधारोमा दूध बजारमा पठाउनुपर्ने बाध्यता किसानलाई छ । हिजो भएको छलफलपछि निजी डेरी सञ्चालक भने दशैँअघि भुक्तानी दिने विषयमा सहमति नजिक पुुगेको आचार्यले बताए । तर, डीडीसीले दिनुपर्ने भुक्तानीबारे टुंगो लागेको छैन । कृषिमन्त्रीसँगको छलफलले निकास दिने अपेक्षा किसानले गरेका छन् ।
हिजै सरकारसँग वार्ताको तयारी गरिए पनि मन्त्री अधिकारी उपत्यका बाहिर भएकाले आज छलफल हुन लागेको हो । भोलिसम्म बाँकी रकम पाउने सुनिश्चितता नभए पर्सीदेखि देशव्यापी आन्दोलनमा जाने चेतावनी किसानले दिएका छन् ।