होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)मा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी, चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । गएराति सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ । जसअनुसार अब एमाले स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् ।
आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुनेगरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताए । १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरु पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन । तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष, महासचिव र उपमहासचिव एक एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ ।
बरालले जनाए अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरु बीच लामो छलफल भएको थियो । पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरेको भए पनि नेताहरुले त्यसलाई बढाएर १५ पुर्याउनु पर्ने राय दिएपछि सोही अनुसार निर्णय भएको हो । पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेका थिए । तर नेताहरुले त्यसलाई बढाएर २५१ सदस्यीय बनाउन आग्रह गरेपछि सोही अनुसार निर्णय भएको हो । केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरोमा रहनेछन् । जसअनुसार अब एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो ।