होमपेज / राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिन छिमेकी मुलुकले अनेक प्रपञ्च गरेको दावी गरेका छन्।
शनिवार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेपिनुमा उद्योग नहुनु भएको बताए। नेपालमा उद्योग कलकारखाना नबढून् भनेर भारतले अनेक कानून बनाएको, कच्चा पदार्थमा बढी भन्सार लगाइदिने गरेको दाबी गरे। यसले रोजगारीमा समस्या भइरहेको उनको दावी छ। यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रूपमा उठाएको बताए।
उनले भने खासमा हाम्रो अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी छ। दलाल पुँजीवादी भनेको बाहिरबाट सामान आयात गरेर यहाँ बेच्ने र नाफा कमाउने। बाहिरबाट सामान ल्याएर बढी नाफा गर्न यहाँ उद्योग खोल्न दिनुहुन्न। त्यसका लागि अर्थमन्त्री‚ प्रधानमन्त्री र सांसदहरूलाई भनेर कच्चा पदार्थको भन्सार महँगो गरिदिएपछि यहाँका उद्योगहरू सञ्चालन हुँदैनन्।