होमपेज / राजनीति
काठमाडौं । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली माथि अहिले अनेक खालका घेराबन्दी गरिएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकार विरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको बताउनुभयो ।
‘प्रधानमन्त्री केपी शर्मा ओली माथि निक्कै ठुलो घेराबन्दी भई रहको छ, निकै ठुलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’, उहाँले भन्नुभयो । सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै पाण्डेले यस्ता विषय समाचारका विषय बन्नु पर्ने बताउनुभयो ।

‘त्यो देखेर केही मानिसहरू अत्तालिएका छन् र प्रधानमन्त्रीका विरुद्ध भ्रमको खेती गरिएको छ’, पाण्डेले भन्नुभयो । अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको पाण्डेले बताउनुभयो । यस तर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउनको लागि पत्रकारहरूलाई अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।