ट्रेण्डिङ

होमपेज / राजनीति

स्ववियु निर्वाचनमा एकताबद्ध भएर विजय हासिलतर्फ अघि बढ्नुस् - प्रधानमन्त्री ओली

विश्वविद्यालयहरुमा आगामी फागुन १५ गते स्ववियु निर्वाचन

नेपालगाथा २०८१ पौष २५ गते बिहीबार १८:५४:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा एकताबद्ध भएर एक्लै मैदानमा उत्रिएर विजय हासिल गर्न अनेस्ववियुलाई आग्रह गरेका छन् ।

आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिए ।

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुरु भएको उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापना पहिले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र संगठन दिएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गरे ।

‘खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पार्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ ।’, अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताए ।

कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top