होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीका हरेक कार्यक्रम गर्दा समय तोकेर गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले स्थानीय विकास विभाग रामेछापले शुक्रबार मन्थलीमा आयोजना गरेको जनप्रतिनिधिहरूको जिल्लास्तरीय समीक्षा बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव ढुङ्गेलले कार्यक्रम सुरुवात गर्ने समय र समयावधि तोकेर कार्यक्रम गर्नुपर्ने बताउनुभयो । बिना सूचना कार्यक्रममा नआउनेलाई स्पष्टीकरण सोध्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा वक्तालाई पनि बोल्ने समय तोक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
जनप्रतिनिधि पार्टी प्रति उत्तरदायी हुनुपर्ने बताउँदै ढुङ्गेलले जनप्रतिनिधिले पार्टी नै नचिन्ने स्थिति बनेको बताउनुभयो । पार्टीले राखेको कार्यक्रममा समेत जनप्रतिनिधि उपस्थित नहुने विडम्बनापूर्ण स्थिति बनेको उहाँले सुनाउनुभयो । पार्टीलाई बलियो बनाउन सोही अनुसारका कार्यक्रम र योजना चाहिने बताउनुभयो । पार्टीको जग बलियो बनाइयो भने मात्र त्यसले काम गर्न सक्ने ढुङ्गेलको धारणा छ ।
आज राज्य गरिब र व्यक्ति धनी भएको अवस्थामा देश रहेको उहाँले बताउनुभयो । राज्यले व्यवसायीलाई काम गरेको पैसा दिन नसक्ने स्थिति रहेको ढुङ्गेलले बताउनुभयो । आज सहकारीहरू चौपट भएका र बैँकमा पैसा थुप्रिएर बसेका ढुङ्गेलले बताउनुभयो । अहिले नेपालको अर्थतन्त्र थिलथिलो अवस्थामा रहेको ढुङ्गेलले सुनाउनुभयो ।
ढुङ्गेलले अहिले देशमा थिति नबसेको बताउँदै थिति बसाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । यसको लागि सबैको प्रयास आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य एवं वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश सभा कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले बोल्नु भएको थियो ।
यसै गरी मन्थली नगरपालिका प्रमुख लबकुमार श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायतका नगरपालिका तथा गाउँपालिका प्रमुखहरूले स्थानीय तहमा गरिहरेका काम, उपलब्धि र चुनौतीको बारेमा प्रकाश पार्नुभएको थियो ।