होमपेज / राजनीति
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमण उपलब्धिपूर्ण हुने बताउनुभएको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले चीन भ्रमणको उपलब्धि देशवासीले थाहा पाउने खालको हुने बताउनुभयो
‘चीनको भ्रमण अत्यन्तै सफल भ्रमण रहने छ, तपाईँहरूले यसै पनि थाहा पाउनु हुने छ, म तपाईँहरूलाई चीनबाट फर्किएपछि कसरी सफल भयो भन्ने कुरा सम्प्रेषण गर्ने छु, त्यतिकै चीन यसो घुमेर आउँ भनेर जान लागेको होइन’, ओलीले भन्नुभयो ।
देशको हित र भलाइको लागि कुनै पनि देशको भ्रमण गरिने बताउँदै ओलीले त्यसकै लागि चीन भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो । चीन भ्रमणलाई सफल र उदाहरणीय बनाउने ओलीले दाबी गर्नुभयो । ‘म ढुक्कले यो कुरा तपाईँहरूलाई भन्नु चाहन्छु’, उहाँले भन्नुभयो ।
एमाले माथि लगाइएका कुनै पनि आरोपहरू खण्डन र चर्चा गर्न लायकका नभएका ओलीले बताउनुभयो । त्यस्ता आरोप लगाउनेहरू आफैँ आरोप लगाउने र आफैँ सुनेर दङ्ग पर्ने मात्र उहाँले बताउनुभयो । ‘भ्रममा पर्दैन जनता, कसले कति कमाएको छ, कसले कति कमाएको छैन, यी कुरा सबै विश्वले देखेको छ, दुनियाँले देखेको छ’, ओलीले भन्नुभयो ।
कम्बोडियाको टेलिकममा कस-सकसको लगानी छ भन्ने कुरा थाहा पाउन कुनै गाह्रो नरहेको बताउँदै ओलीले यस्ता कुरामा समेत दुष्प्रचार गरिएको बताउनुभयो । ‘आफू गल्ती गर्ने, अरूको टाउकोमा खन्याउने’, उहाँले भन्नुभयो ।
यस्ता कुप्रचार गर्ने र भ्रम फैलाउनेलाई सामाजिक सुप्रबन्ध कायम गर्न नियन्त्रण गर्नुपर्नेमा र सरकारले त्यो काम गर्ने ओलीले बताउनुभयो । अब नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्न ओलीले चेतावनी दिनुभयो । एमाले हात्तीको बथान जस्तो पार्टी भएकोले नाङलो ठटार नतर्सने ओलीले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली यही मसिर १७ गते चीन भ्रमणका लागि जाने तय भएकाे छ। ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुनेछ। कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ उनले भने।