होमपेज / राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।
त्यस्तै मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले सोमबार नै पदभार ग्रहण गर्नेछन् ।