ट्रेण्डिङ

होमपेज / राजनीति

देश निर्माणको काममा अब पर्खने समय छैन - ओली

नेपालगाथा २०८१ जेठ ३ गते बिहीबार १६:१६:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब पर्खने समय नभएको बताउनुभएको छ । बिहीबार पार्टीले बल्खुमा आयोजना गरेको मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै ओलीले दुनियाँ धेरै अघि बढेकोले अब पनि नेपाल र नेपालीलाई विकास र समृद्धिको लागि पर्खने समय नभएको बताउनुभयो ।

अब पनि अभावग्रस्त जिन्दगी बिताउने कुरा अशोभनीय र कलङ्कित कुरा भएको ओलीले बताउनुभयो । आजको समाज अत्यन्त सुन्दर समाज हुनुपर्दछ’, ओलीले भन्नुभयो । ओलीले अहिले समतामूलक समाज कि, आंशिक रूपमा सम्पन्न समाज बनाउने भन्ने लडाइँ चलिरहेको बताउनुभयो ।

हरेक विचारले सम्पन्नतालाई स्विकार्ने भए पनि आंशिक सम्पन्नता कि समग्र सम्पन्नता भन्ने कुरा प्रमुख रहेको उहाँले प्रष्ट पार्नुभयो । पुँजीवादले आम्दानीको सम्पूर्ण हिस्सा सीमित मान्छेको हातमा जानुपर्छ भन्ने तर समाजवादले आम्दानीको सम्पूर्ण हिस्सा सबैमा पुग्नु पर्ने कुराको वकालत गर्ने ओलीले प्रष्ट पार्नुभयो ।

‘पुँजीवादले पुँजीलाई ध्यान दिन्छ, समाजवादले मन्छेलाई ध्यान दिन्छ, समाजलाई ध्यान दिन्छ’, ओलीले भन्नुभयो । समाजवादी आन्दोलनलाई एकता र अनुशासित ढङ्गले अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । समाजवादी आन्दोलनलाई सही हिसाबले अघि बढाउनु पर्ने उहाँले बताउनुभयो ।

यसो गर्न सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उहाँले प्रष्ट पार्नुभयो । अहिले देशमा देशको हितको पक्षमा उभिएर लड्ने र निर्देशित ढङ्गले स्वार्थमा केन्द्रित रहेर चल्ने दुई खालका शक्ति रहेका ओलीले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी जनतामा आधारित सचेत संगठन भएको ओलीले प्रष्ट पार्नुभयो ।

‘नेकपाले सदैव राष्ट्रिय शक्तिको रूपमा भूमिका खेल्दै आएको छ’, उहाँले भन्नुभयो । देशको स्वाधीनता, स्वाभिमान, अखण्डता, राष्ट्रिय हित, सुशासन, नयाँ विकास अभियान सञ्चालनको लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसैको लागि एमालले मिसन २०८४ भनेको उहाँले प्रष्ट पार्नुभयो ।

‘अहिले हामीले मिसन २०८४ अर्थात् २०८४ को निर्वाचनलाई हेरेका छौँ, एउटा टर्निङ पोइन्टको रूपमा, एउटा मोडको रूपमा, नेपालको राजनीतिले एउटा नयाँ मोड लिनु पर्दछ २०८४ सालबाट, त्यस कारण हामीले मिसन २०८४ भनेका छौँ, त्यो मोड प्रतिगामी मोड होइन, अग्रगामी मोड हुने छ’, उहाँले भन्नुभयो ।

नेपाल जस्तो उर्वर भूमिमा बाँच्नको लागि कसैको लागि गाह्रो भन्ने कुरा हुनै नसक्ने उहाँले बताउनुभयो । विकासको सही योजना र राम्रो व्यवस्थापन हुन नसक्दा नेपाल गरिब भएको उहाँले बताउनुभयो । त्यसलाई अन्त्य गर्न राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो ।

जनताको बहुदलीय जनवाद भनेकै समृद्ध नेपाल, सुखी नेपाली भएको उहाँले स्पष्ट पार्नुभयो । परिवर्तनका विभिन्न चरण पार गर्दै समृद्ध नेपाल, सुखी नेपालीसम्म पुग्न सकिने ओलीको धारणा छ । विश्वमा हिंसा अन्त्य गरी शान्ति स्थापनको लागि योगदान दिनु अब नेपालको दायित्व भएको उहाँले बताउनुभयो ।

अहिलेको युगमा युद्ध, हिंसा र हत्या अशोभनीय तथा मानवता विरुद्धको काम भएको उहाँले स्पष्ट पार्नुभयो । छिमेकीसँगको सम्बन्ध पनि अब समान हुनुपर्नेमा उहाँले जोड दिनुभयो । छिमेकीले छिमेकीको सम्बन्धमा कुभलो नचिताउने, भलो मात्र चिताउने गरी नेकपा एमाले अघि बढ्ने ओलीले प्रष्ट पार्नुभयो ।

छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध असल र न्यायपूर्ण हुनुपर्ने पक्षमा नेकपा एमाले रहेको ओलीले बताउनुभयो । एमालेलाई सिद्ध्याउने अनेक षडयन्त्रका बाबजुद पनि नेकपा एमाले पहिलो राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको उहाँले बताउनुभयो । अब एउटा अवस्था बनिसकेकोले एमाले बलियो राष्ट्रिय शक्ति बनेर अघि बढ्ने उहाँले दाबी गर्नुभयो ।

दक्षिणपन्थीको सरका बनाउन केही कम्युनिष्ट भनिएकाहरू कम्युनिष्टका सबै आवरण र चेहरा फालेर निस्किएको ओलीले बताउनुभयो । कम्युनिष्ट भनेका नेताहरू कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन सडकदेखि अदालतसम्म धाएका उहाँले स्मरण गराउनुभयो । यस्तो कुरा पत्याउन समेत गाह्रो परेको ओलीले सुनाउनुभयो ।

त्यो कार्यले उनीहरूको असली अनुहार देखिएको ओलीले स्पष्ट पार्नुभयो । उनीहरू कम्युनिष्ट पार्टी टर्च बारेले खोज्दा पनि भेटिने छैन भनि घोषणा नै गरेर हिँडेका ओलीले बताउनुभयो । अहिले कम्युनिष्ट पार्टी एउटा अपराजयी शक्तिको रूपमा स्थापित भएको उहाँको भनाइ छ । एक्लै चुनाव लडेर पनि नेकपा एमाले प्रमुख पार्टीको रूपमा उदाएको ओलीले बताउनुभयो ।

एमाले विरुद्ध एक पछि अर्को पासो थापेर हमला गरे पनि एमालले सबै मोर्चा र पासोलाई परास्त गरेको उहाँले बताउनुभयो । अब एमाले सुदृढ विजयको दिशामा अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । उहाँले मिसन २०८४ मा एमालले गोल नै गर्नुपर्ने बताउनुभयो । मिसन २०८४ मा एमालले गोले मिस हुन नदिने ओलीले दाबी गर्नुभयो ।

हिजो लडेर आएको देश र एमाले आज अडे मात्रै पुग्ने उहाँले प्रष्ट पार्नुभयो । ‘मिसन २०८४ सफल बनाएर छाड्ने छौँ’, उहाँले भन्नुभयो । नेपाल कसैको अगाडि घुँडा टेक्ने नजान्ने ओलीले बताउनुभयो । जस्तासुकै दबाब र असहज परिस्थितिका बिचमा पनि नेपाल र नेकपा एमाले घुँडा नटेकेको उहाँले सुनाउनुभयो ।

नेपाल माथि नाकाबन्दी गर्दा पानी खाएर पनि हामी बाँच्छौँ, तपाईँ नझुक्नुस् भनेर नेपाली जनताले आफूलाई आँट र साहस दिएको ओलीले बताउनुभयो । ओलीले २०५० साल जेठ ३ गते मदन–आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटना भएको घटना निक्कै रहस्यपूर्ण रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका पुराना नेता उमेश गिरीले सार्वजनिक गर्नुभएका प्रसङ्गले पनि सो घटना रहस्यमय भएको ओलीले बताउनुभयो । ओलीले मदन–आश्रितको निधनले आन्दोलन नै विचलित हुने अवस्था आएको भए पनि उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको दर्शनले पार्टीलाई दिशानिर्देश गरेको प्रष्ट पार्नुभयो । एमालेले शोकलाई शक्तिमा बदलेर अघि बढेको ओलीले बताउनुभयो । ‘हामी आँसु पुछ्दै आन्दोलनलाई अझै सुदृढ ढङ्गले, गतिशील ढङ्गले अघि बढाउन लाग्यौँ, ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top