होमपेज / राजनीति
पाेखरा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादका अवशेषको अन्त्य अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ । अवसरवादको अवशेषको अन्त्य नभए सम्म समाजवादको आधार निर्माण असम्भव भएको भन्दै वर्तमान हर तहको पार्टीको नेतृत्व त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।
एमाले स्कुल विभाग प्रमुख समेत रहनुभएका उप महासचिव ज्ञवालीले पोखरामा जारी स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा दोश्रो दिन प्रशिक्षण प्रदान गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।
नेता ज्ञवालीले समाजवादको आधार निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्न आवश्यक मार्गनिर्देश गर्दै समाजवादी समाज निर्माणका जगहरूको निर्माणमा लाग्न आग्रह गर्नुभयो । सामाजिक न्याय सहितको आर्थिक विकासको अवधारणा अनुसार स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रम तय गर्नुपर्ने उहाँको जोड थियो ।

देश विकासको लागि पुँजी निर्माण स्थानीय तहको अर्को कार्यभार भएको र आय निर्माणका कार्यक्रममा केन्द्रित हुन आग्रह गर्दै पूर्वाधार सहितको मानव पुँजी निर्माणमा जोडदिनुभयो । प्रशिक्षणमा उपमहासचिव ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सोही विभागका सचिव हर्कराज राइ, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले सहजीकरण गरिरहनुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले बताउनुभयो।
प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव तथा प्रचार एवम् प्रकासन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।