होमपेज / राजनीति
दैलेख । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले अहिलेको एकता बिचार र सिद्धान्त मिल्नेहरूको एकता भएकोले दिगो समयसम्म एकता कायम हुने बताएका छन् ।
दैलेखको डुगेश्वर गाउँपालिकामा भएको पालिका अधिवेशन उद्घाटनमा बोल्दै कँडेलले विगतमा निर्वाचन अघि नै भएको गठबन्धन विचार सिद्धान्त नमिलेकै कारण धेरै दिन टिक्न नसकेको र पछिल्लो राजनीति समीकरण सँगै सरकारमा सामेल दलहरू मध्ये एमाले, माओवादी र समाजवादी दलहरूको बिचार र सिद्धान्त एउटै भएकोले पछिल्लो एकता दिगो रूपमा अगाडी बढ्ने बताएका हुन् ।
यसअघिको निर्वाचनमा एमालेलाई हराउने मात्र उद्देश्य राखेर गठबन्धन गरिएको थियो, तर एमाले जनताबाट पराजित भएन, जनताले एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरिदिए, अंकगणितिय रूपमा कतिपय स्थानमा असफलता प्राप्त भएको भए पनि एमालेका कार्यकर्ताहरू कहीँ कतै विचलित नभई एमाले नै दुःखी र गरिबहरूको पार्टी हो भन्ने मान्यता स्थापित गरिदिएको बताएका छन् । नेकपा एमाले नै नेपालको कम्युनिस्टको पहिलो शक्ति रहेको पुष्टि भएको, एमालेले गरेका जन पक्षीय कामहरूबाट जनता अझैँ उत्साहित बनेपछि देश र जनतालाई विकास र समृद्धिको मार्गमा अगाडी बढाउने मुख्य उद्देश्य राखेर अहिलेको गठबन्धन बनेको कँडेलको भनाई छ ।
गाउँमा विकास र समृद्धिको सम्भावनाका ढोकाहरू खोल्नका लागि विकासलाई दिगो रूपमा सम्पन्न गर्नका लागि एमालेका वडा तहदेखिका कार्यकर्ताहरू नेपालको गरिबी उन्मुलन अभियानमा लाग्नुपर्ने बताएका छन् । अव एमालेका हरेक वडाका नेताहरूले वडामा जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने, कुनै लोभ लालचमा फस्न नहुने सुझाव दिएका छन् ।
२०५१ सालमा काँग्रेसले एमालेलाई गरेको गलत व्याख्या चिर्दै एमाले सरकारमा जाँदा २०५१ सालबाटै बृद्धबृद्धालाई भत्ता दिने निर्णय गरेपछि अहिले जो सरकार आए पनि यसलाई हटाउन नसकेको बताएका छन् । अहिले ४ हजार भत्ता पाउनुभएको छ, पार्टी अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री भएको भए, भत्ता बढेर ५ हजार पुग्ने थियो कि भन्ने जनताको आशा एमालेकै सरकारको पालामा पुरा हुने र त्यसको नेतृत्व के.पी. ओलीले नै गर्ने कँडेलको भनाई छ ।
राजनीतिमा आफन्त र अर्नीपानी दिने नेताको आधारमा हैन, एमालेका हरेक कार्यकर्ताहरूले राजनीति मेरा लागि होइन, राजनीति परिवर्तनका लागि, दुःखी गरिबहरूको पक्षमा वकालतका लागि, समुन्नत नेपाल निर्माणका लागि, गाउँका खाली जमिनहरूमा हरियाली छाउनका लागि हो भनेर एमालेका सबै नेता र कार्यकर्ताहरू जनताको सेवा भावको उद्देश्य राखेर काम गर्नुपर्ने बताएका छन् ।
यही भावना राखेर काम गर्दै मिसन ०८४ मा एमालेले एकल बहुमत ल्याउने गरी तयारी थाल्न सबैलाई निर्देशन दिएका छन् । समाजका निम्ति, जनताका लागि समय दिने नेतृत्व चयन गर्दै यसको प्रभावकारी परिचालन गर्नुपर्ने सुझाव कँडेलले दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष सूर्यबहादुर शाहीले नेकपा एमाले दैलेखका ११ पालिका मध्ये १० वटा पालिकामा पालिका अधिवेशन सम्पन्न भएको बताउँदै नेकपा एमाले नयाँ सिराबाट अगाडी बढ्ने जानकारी दिएका छन् ।
अधिवेशन उद्घाटनमा केन्द्रीय सदस्य राजबहादुर बुढा, मिनासिंह रखाला, प्रदेश सचिव रबिन्द्रराज शर्मा, डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी. लगायतले शुभकामना दिएका छन् । एमाले गाउँ कमिटी अध्यक्ष मानबहादुर विष्टले साङ्गठनिक प्रतिवेदन पेस गर्दै बन्द सर्त सुरु भएको छ । सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने तयारी भएको एमालेका नेताहरूले जानकारी दिएका छन् ।