होमपेज / राजनीति
कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका छन् । ढुंगाना पूर्व प्रदेश सचिवालय सदस्य समेत हुन् । उनले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । शाहीले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए ।
यस्तै सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले दुई सय ४३ मत ल्याउँदा विष्णुकुमार चन्दले एक सय ६८ मत ल्याए। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् । उपसचिव(खुला) मा ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्टले दुई सय ५१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।
फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।