ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन हुँदै

नेपालगाथा २०८० पौष २३ गते सोमबार १०:४३:३१ मा प्रकाशित

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । 

उमेदवार उपर २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका रहेकाे छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । 

स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा पूरा हुन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top