होमपेज / राजनीति
विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन । उनले विश्वासको मत लिन नेपाली कांग्रेस(२९), माओवादी (१३), नेकपा (एकीकृत समाजवादी)(४) मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् ।
गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । गठबन्धनमा रहेका काग्रेस माओवादी, एकीकृत समाजावदी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन् । अहिलेको सरकारलाई विश्वासको मत नदिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबो बताउँछन् ।
यसअघि नै कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । राप्रपाले समेत विश्वासको मत नदिने बताइरहेको छ ।