ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले बागमती अधिवेशन आजबाट शुरू

नेपालगाथा २०८० आश्विन ८ गते सोमबार ११:५२:३८ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंको भृकुटी मण्डपमा आजबाट सुरू हुँदैछ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।

अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ ।

प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएको कारण पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् ।

हालसम्म अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीको नाम पनि चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top