होमपेज / राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान मिचेकाे बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धनले बारम्बार संविधान मिचेको भए पनि यस कुराकाे सिकार आफ्नो पार्टी बन्न नहुने बताए । कोसी प्रदेश सरकारबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम भनेको विषयमा पार्टीको धारणा के हो ? भन्दै उनले प्रश्न गरे ।
गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै उनले यसबारेमा पार्टी ‘क्लियर’ हुनुपर्नेमा जोड दिए ।
“हामी संविधानको रक्षा गर्ने भन्छौँ, तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोसीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ?,” उनले प्रश्न गरे, “हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन ।”